काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामीको उपचारमा सरकारले आर्थिक सहयोग उपलब्ध गराउने विषयमा आफू सकारात्मक रहेको बताएका छन्।
त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यरोपण सर्जन डा रमेश सिंह भण्डारीले अस्पतालको कलेजो प्रत्यारोपणको कामको विषयमा जानकारी दिने क्रममा प्रधानमन्त्री ओलीले यस विषयमा आफू सकारात्मक रहेको बताएका हुन्।
प्रधानमन्त्री ओलीले कलेजो प्रत्यारोपण गर्ने बिरामीलाई सरकारले के कति सहयोग उपलब्ध गराउनु पर्ने हो भन्ने विषयमा डा भण्डारीसँग विस्तृत प्रस्ताव तयार पार्न पनि आग्रह गरेका छन्।
'क्यान्सर, मुटु, मिर्गौला रोगको उपचारमा सरकारले सहयोग गरेजस्तै कलेजो प्रत्यारोपणमा पनि सहयोग उपलब्ध गराउनु पर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको थियो', डा भण्डारीले भने, 'उहाँले प्रस्ताव बनाएर ल्याउनु सरकारले सक्दो सहयोग गर्छ भनेर भन्नु भएको छ।'
सरकारले अहिले विभिन्न ८ प्रकारका कडा रोगमा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ। कलेजो प्रत्यारोपण गर्न निकै खर्च लाग्ने भएकाले सरकारले यसमा आर्थिक सहयोग गरे धेरै बिरामीले राहत पाउने डा भण्डारी बताउँछन्।
कलेजो प्रत्यारोपण गर्न २५ लाख भन्दा बढी खर्च हुन्छ।