विजय खतिवडा
विराटनगर- लामो समयको लकडाउन र केही क्षेत्र अझै पनि बन्द हुँदा मानिसमा अन्धोपन बढेको पाइएको छ। बन्दाबन्दीको समयमा अन्धोपन बढेको विराटनगर आँखा अस्पतालको एक अध्ययनले देखाएको छ। बन्द खुलेसँगै सुचारु भएको अस्पतालमा नयाँ प्रकारका आँखाका बिरामी आउन थालेको अस्पतालका प्रबन्धक कुमार पृथुले बताए।
उनका अनुसार लकडाउनका कारण मोबाइल, ल्यापटप लगायत ग्याजेट्सको बढी प्रयोग हुनुका साथै आँखाका रोगीले समयमा नै उपचार नपाउँदा अन्धोपन बढेको हो। नियमित परीक्षण गर्नुपर्नेले पनि सेवा नपाउँदा अन्धोपन बल्झेको पाइएको पृथुले जानकारी दिए।
विराटनगर आँखा अस्पतालमा नेपालका पहाडी क्षेत्रका साथै भारत, बंगलादेश, भुटानबाट पनि आँखाका बिरामी आउने गरेका छन्। यातायात र अन्तर्राष्ट्रिय सीमा बन्द भएकोले बाहिरबाट आउने बिरामी आएका छैनन्।
अस्पतालले समुदायमा गएर आँखा र कानको स्वास्थ्य शिविर राख्दै आएकोमा कोरोना महामारीसँगै त्यस्ता सबै कार्यहरू प्रभावित भएका छन्। त्यस्ता शिविर मासिक ३० वटा जति हुँदै आएका थिए।
२०-२० को सूत्र
कोरोना महामारीमा अन्धोपनबाट जोगिन अस्पतालले २०-२० (ट्वान्टी-ट्वान्टी) सूत्र अवलम्बन गर्न सबैमा आह्वान गरेको छ। अस्पताल जान नसकेको अवस्थामा मोबाइल लगायतका सामग्री प्रयोग गर्दा अन्धोपन हुनसक्ने भएकोले ट्वान्टी-ट्वान्टी सूत्र अनुसरण गर्न अनुरोध गरिएको अस्पतालका प्रबन्धक पृथु बताउँछन्।
जसअन्तर्गत मोबाइल या कम्प्युटर सामग्री या किताब पढिरहेको अवस्थामा प्रत्येक २० मिनेटमा २० फिट पर २० सेकेन्डसम्म हेर्नु हो। अर्थात् कोही कसैले आँखा नजिकै पारेर किताब वा कुनै प्रकारको डिजिटल स्क्रिन हेरिरहेको छ भने उसले प्रत्येक २० मिनेटमा विश्राम लिई २० सेकेन्डसम्म २० फिट पर के छ त्यो हेर्ने हो। यसो गरे अन्धोपन हुनबाट धेरै हदसम्म जोगिनसक्ने प्रबन्धक पृथुले बताए।
सेवा प्रभावकारी तर छैनन् बिरामी
कोरोना संक्रमणको जोखिम तथा लकडाउन लगायतका कारण लामो समय बन्द रहेको विराटनगर आँखा अस्पताल सूचारु भएसँगै यसले विस्तारै गति लिन थालेको छ।
झन्डै ९० प्रतिशत भारतसहित अन्य देशबाट बिरामी आउने यो अस्पताल लकडाउनका बेलामा पनि वैकल्पिक उपाय अपनाई सञ्चालनमा आएको थियो। सीमानाका नखुलेका कारणले यो अस्पतालमा पहिलाको जस्तो भीडभाड भने देखिँदैन।
कोरोना संक्रमणबाट जोगिन आफ्नै निश्चित मापदन्ड बनाएर अगाडि बढेको विराटनगर आँखा अस्पतालले दैनिक कार्य प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ। सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि दैनिक आँखा तथा कानको आकस्मिक सेवा पु¥याउँदै आएको आँखा अस्पतालले साउन ७ देखि पूर्ववत सबै सेवा सुरू गरेको हो। यसै क्रममा अस्पतालको १४औं वार्षिकोत्सव भदौ २७ गते भर्चुअल विधिबाट सम्पन्न गरेको अस्पतालका प्रबन्धक कुमार पृथुले बताए।
कोरोना महामारीको नियन्त्रणका लागि लकडाउनसँगै अस्पतालले सतर्कताका साथ सुरक्षाका लागि निश्चित मापदण्ड बनाएर अगाडि बढेकोले अहिलेसम्म अस्पतालका कुनै कर्मचारीलाई कोरोना संक्रमण नभएको प्रबन्धक पृथु बताउँछन्। उनका अनुसार अस्पतालमा कार्यरत तीन सय कर्मचारीलाई तीन समूह बनाएर काममा खटाइएको छ। जसमा एक समूहले नियमित एक हप्ता कार्यालय आएर काम गरेपछि अनिवार्य दुई हप्ता होम क्वारेन्टाइनमा बस्नुपर्ने नियम सुरूमा बनाइएको थियो।
सोहीअनुसार प्रत्येक समूहका एक सय जना एक हप्ता अस्पतालमा काम गरी १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा अस्पतालले राख्ने गरेको छ। यसरी प्रत्येक समूहले पालैपालो काम गर्दा कसैलाई कोरोनाको संक्रमण नभएको पृथुले बताए।
बन्दाबन्दीको समयमा दैनिक एक सय सेवाग्राहीले सेवा लिएकामा अहिले विस्तारै बढ्दै गई दैनिक तीन सय बिरामीले सेवा लिइरहेको प्रबन्धक पृथु बताउँछन्। सामान्य अवस्थामा अस्पतालका सबै तीन सय कर्मचारी खटिँदा दैनिक एक हजार बिरामीले सेवा लिँदै आएका थिए।