काठमाडौं- कोरोना महामहारी फैलिएसँगै अहिले विश्व बजारमा फेस मास्कको व्यापार बढ्दो छ। नेपालमा पनि अहिले मास्कको ब्यापार बढिरहेको छ।
सरकारले पनि घर बाहिर निस्कँदा मास्क अनिवार्य रुपमा लगाउनुपर्ने नियम लगाएको छ। मास्क नलागाई आवतजावत गर्नेलाई सरकारले कारबाही समेत गरिरहेको छ। जसका कारण अहिले मास्क अत्यावश्यक बनेको छ।
विश्वमा कोरोनाको महाहारी सुरु भएसँगै मास्कको चरम अभाव भएको थियो। नेपालले पनि मास्कको अभाव थेग्न परेको थियो। सुरुवाती चरणमा मेडिकल मास्कको अभाव हुँदा कपडाको मास्क बढी प्रयोगमा आएको थियो। तर विस्तारै नेपालमै मास्कको उत्पादन सुरु भएसँगै अहिले मास्कको अभाव छैन।
कोरोनाको महामारी सुरु भएसँगै नेपालमा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले मेसिन मगाएर मास्क उत्पादन थालेका थिए। मल्होत्राले मास्क उत्पादन थालेसँगै विस्तार अन्य व्यवसायीले पनि मेसिन ल्याउँदै मास्कको उत्पादन थालेका थिए। जसका कारण अहिले बजारमा सहजै मास्क पाउन थालिएको छ।
सुरुवाती चरणमा एउटा मेडिकल मास्कको २५ रुपैयाँसम्म परे पनि अहिले मास्कको मूल्य पहिलकै अवस्थामा आइसकेको छ। अहिले बजारमा प्रतिपिस खुद्रा १० रुपैयाँमा पाउन अवस्था आइसकेको छ। यसको एउटा कारण हो, मास्क उत्पादन आवश्यक मात्रामै नेपालमा उत्पादन हुनु।
चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो दुई महिना साउन र भदौमै मात्र फेस मासक बनाउने १ सय वटा मेसिन नेपाल भित्रिएको छ।
भन्सार विभागका अनुसार चालू आवको पहिलो २ महिनामा भारत तथा चीनबाट फेस मास्क उत्पादन गर्ने मेसिन नेपाल भित्रिएको छ।
विभागले सार्वजनिक गरेको तथ्यांकका अनुसार २ महिनामा भारतबाट ८७ वटा फेस मास्क बनाउने मेसिन र चीनबाट १७ वटा मेसिन नेपाल भित्रिएको छ।
दुई महिनाकै अवधिमा फेस मास्क उत्पादन गर्ने मेसिन आयातमा ७ करोड ७९ लाख ६ हजार रुपैयाँ नेपालबाट विदेशिएको छ। जसमा भारतमा आयात भएको ८७ वटा फेस मास्क बनाउने मेसिनको लागि ५ करोड २१ लाख ५४ हजार र चीनबाट आयात भएको १७ वटा फेस मास्क बनाउने मेसिनमा २ करोड ५७ लाख ५२ हजार रुपैयाँ खर्च भएको छ।
यसैगरी सरकारले फेस मास्क बनाउने मेसिन आयातबाट २५ लाख ६९ हजार रुपैयाँ भन्सार राजस्व समेत संकलन गरेको छ।