मुख्य समाचार

घरबेटी र औद्योगिक प्रतिष्ठानलाई सरकारको आग्रह- जबरजस्ती पिसिआर परीक्षणका लागि दबाब नदिऔं

काठमाडौं– सरकारले घरबेटी तथा विभिन्न कार्यालयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरित सर्वसाधरणलाई पिसिआर परीक्षण गर्न बाध्य नपार्न आग्रह गरेको छ। 

काठमाडौंमा घरधनी र केही औद्योगिक प्रतिष्ठानले पिसिआर रिपोर्टका लागि सर्वसाधारणलाई बाध्य बनाएको भन्दै त्यस्तो नगर्न सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आग्रह गरेका हुन्। 

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै उनले भने, ‘पिसिआर रिपोर्ट नभई धरधनीले डेरामा बस्नेलाई पस्न नदिएको र औद्योगिक प्रतिष्ठानले काम गर्न नदिएको सुन्नमा आएको छ त्यसैले जबर्जस्ती पिसिआर परीक्षणका लागि बाध्य नपार्न म आग्रह गर्दछु।’ 

‘स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनले जारी गरेको प्रोटोकल छ। त्यसविपरीत जबर्जस्ती परीक्षण गर्नु उचित हुँदैन। त्यसले कुनै परिणाम पनि दिँदैन,’ मन्त्री ज्ञवालीले थपे। 

मन्त्री ज्ञवालीले कोरोनाको जोखिम अझै पूवार्नुमान गर्न सक्ने अवस्थामा नभएको, नेपालमा कोरोना संक्रमण बढि रहेको र जोखिम कहिलेसम्म रहन्छ भन्ने पूर्वानुमान गर्न नसकिने भएकाले सतर्क रहन पनि आग्रह गरे।

‘नेपालमा निरन्तर संक्रमण बढिरहेको छ। कुनै विन्दुमा पुगेर हामी विस्तारै ओरालो लाग्न सुरु गर्छौं। संक्रमण नियन्त्रणको अवस्थामा जान्छ। अझै पूर्वानुमान गर्न सकिने अवस्था छैन’ उनले भने। 

सरकारले कोरोनाको जोखिम कम भएर नभई जीवन र जीविका चलाउन सन्तुलनको आवश्यकताका कारणले धेरै क्षेत्र खुला गरेको भन्दै यस्तो बेला सबैको उच्चस्तरको सतर्कता, साथ र सहयोगको जरुरत रहेको बताए। 

सर्वसाधारणले सरकारी निर्देशन र विज्ञको सुझाव मानेकै कारण नेपालमा कोरोनाको भयावह अवस्था आउन नपाएको भन्दै उनले चाडपर्वको बेलामा थप सतर्क हुनुपर्ने जानकारी दिए। 

‘खुला सीमाना भएको देश भएपनि  जति भयावह हुन सक्थ्यो। त्यसमा जति जोखिम  थियो, यसको तुलनामा कम नै छ’, उनले भने, ‘तर जोखिम उच्च नै छ । आगामी दिनमा चाडबाडको समय आउँदैछ। यो बेलामा स्वास्थ्य सतर्कतालाई कहिँ कतै पनि कम नगर्नुहुन र विज्ञको सुझाव मान्न आग्रह गर्न चाहन्छु।’

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने