काठमाडौं– कोभिड-१९ बाट एक स्वास्थ्यकर्मीके मृत्यु भएको छ। पर्साको जगरनाथपुर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिअहेब रामसिकिल प्रसाद साहको मृत्यु भएको स्वास्थ्यकर्मी जयमोद ठाकुरले जानकारी दिएका छन्।
५८ वर्षीय साहको उपचारकै क्रममा मृत्यु भएको हो। भदौ १९ गते उनलाई ज्वरो, रुघा र खोकी देखिएको थियो। त्यसपछि उनले जनकपुर पुगेर उपचार सुरु गरेका थिए। स्थानीय अस्पतालमा उपचार गराउँने क्रममा झन् स्वास्थ्य विग्रिदै गएपछि उनलाई काठमाडौंको शिक्षण अस्पताल रिफर गरिएको थियो।
अस्पतालको आइसियुमा बेड नभएपछि करुणा अस्पताल पुर्याइएको थियो। त्यहाँ पुगेपछि कोरोना जाँच गर्दा उनमा पोजिटिभ देखिएको थियो। केही दिनपछि स्वास्थ्य बिग्रिएर भेन्टिलेटरमा पुगेका उनको सोमबार बिहान मृत्यु भएको ठाकुरले बताएका छन्।
मृतक साहको स्थायी ठेगाना महोत्तरी जिल्लाको मनरा नगरपालिका-७ हो।