काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मोरङका ६८ वर्षीय पुरुष र सुनसरीकी ३८ वर्षीया महिलाको मृत्यु भएको अस्पतालमा प्रवक्त डा निदेश सापकोटाले जानकारी दिए।
सुनवर्सी– ७, मोरङका ६८ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार बिहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएर नोबेल मेडिकल कलेजबाट रिफर भएर असोज १० गते अस्पतालमा भर्ना भएका थिए। उनको भेन्टिलेटरमा उपचार हुँदै आएको थियो।
अस्पतालका अनुसार उनको नोबेल मेडिकल कलेजमा असोज ५ गते कोरोना पृष्टि भएको हो। उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौलाका बिरामी थिए।
त्यस्तै सुनसरीकी ३८ वर्षीया महिलाको सोमबार साँझ ५ः४५ बजे मृत्यु भएको डा सापकोटाले जानकारी दिए।
उनी ज्वरो, खोकी, श्वासप्रश्वास र निमोनियाका लक्षण देखिएर आइतबार अस्पतालमा भर्ना भएकी थिइन्। उनको असोज १२ गते कोरोना पोजेटिभ पृष्टि भएको थियो।
उनको अन्य दीर्घरोग नभए पनि अस्पतालको इमजेन्र्सीमा जाँच गर्दा अत्यधिक मात्रामा ब्लड सुगर देखिएको अस्पतालले जनाएको छ।