काठमाडौं- नेपालमा पहिलो पटक कोरोना संक्रमित एक डाक्टरको मृत्यु भएको छ।
कर्णाली प्रादेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा हरि सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो।
डा सापकोटाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा रविन खड्काले जानकारी दिए।
५९ वर्षीय डा सापकोटा ११औं तहका सरकारी डाक्टर हुन्।
अपडेट
भेरी अस्पतालले कोभिड१९ का कारण पहिलो पटक मृत्यु भएका चिकित्सकलाई रेम्डिसिभिर र प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको जनाएको छ।
कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक्स सर्जन डा हरी प्रसाद सापकोटाको बिहीबार दिउसो भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै डा सापकोटालाई रेम्डिसिभिर र प्लाज्मा थेरापी गरिएको जानकारी दिएको छ।
उनलाई फोक्सोमा निमोनिया भई समस्या बढेपछि मृत्यु भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
उनलाई भदौ २९ गते कोरोना पोजिटिभ देखिएको थियो। सुर्खेतमै उपचार भइरहेको भएपनि श्वासप्रवासमा समस्या देखिएपछि असोज १ गते भेरी अस्पताल पु¥याइएको थियो।
अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै मधुमेह र उच्च रक्तचापका बिरामी डा सापकोटालाई अस्पताल ल्याउँदा अक्सिजन र सुगर नियन्त्रणका लागि विभिन्न किसिमका इन्सुलिन र एन्टीबायोटिक चलाएपनि सुधार नभएको जनाएको छ।
उपचारको क्रममा डा सापकोटाको स्वास्थ्यमा आशातित सुधार नभएपछि थप सुविधा सम्पन्न ठाउँमा प्रेषण गर्ने हरसंभव प्रयास गरिएको भन्दै अस्पतालले अक्सिजन स्याचूरेसन निकै कम भएकोले थप दुर्घटना हुने सम्भावनाका कारण उनलाई थप उपचारका लागि रेफर नगरिएको स्पष्ट पारेको छ।
‘उहाँको फोक्सोमा सुरुमा निमोनिया र सोको परिणाम स्वरुप श्वासप्रश्वास सम्बन्धी समस्या भई अक्सिजन स्याचुरेसन घट्दो रहेकोले आज बिहान ६ बजे भेन्टिलेटरमा राखिएको थियो,’ अस्पतालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
करीब १२ बजे मुटुको चाल बन्द हुँदा उनको मुटुको चाल फर्काउन सिपिआर विधि गरिएको तर दिउँसो ३ बजेर ३० मिनेट जाँदा कार्डियक अरेस्ट भई मृत्यु भएको अस्पतालले जनाएको छ।
डा सापकोटाको मृत्युले देशको स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति भएको भन्दै अस्पतालले दुख व्यक्त गरेको छ।