काठमाडौं- राष्ट्रिय चिकित्सा शिक्षा आयोगले स्नात्तकोत्तर तह पिजीको एकीकृत प्रवेश परीक्षा तोकिएकै समयमा हुने जनाएको छ।
आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले परीक्षाका लागि आज अन्तिम दिन भएको र दिउँसोसम्म ७ हजार बढीले फर्म भरिसकेको जानकारी दिए।
उनले भने, ‘अहिलेसम्म परीक्षा स्थगित हुने कुरा भएको छैन। सात हजार बढीले परीक्षा फारम भरिसक्नुभएको छ। परीक्षा तोकिएको समयमा नै हुन्छ।’
आयोगले असोज २७, २८ र २९ गते परीक्षा मिति तोकेको छ। आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सूचना जारी गरेको थियो। इच्छुक विद्यार्थीले आज साँझ ५ बजेसम्म आयोगको वेबसाइटमार्फत अनलाइन आवेदन फर्म भर्न सक्ने छन्।
आयोगले एमडि र एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिई, एमएन, एमएससी नर्सिङ, एम फर्मा, एमएससी एमआइटी लगायतका विषयमा परीक्षा लिँदै छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा शिक्षातर्फको स्नातकोत्तर तह (पिजी) को सरकारी सिटमा छात्रवृत्तिमा अध्ययनका लागि कम्तीमा २ वर्ष सरकारी सेवामा काम गरेकालाई मात्र उम्मेदवार बनाउन चिकित्सा शिक्षा आयोगलाई पत्र पठाएको छ।
मन्त्रालयले कति विद्यार्थीलाई पूर्व स्वीकृति नदिइएको भन्दै गैरसरकारी सेवाका चिकित्सकले भने विरोध गर्दै आएका छन्।
मन्त्रालयले चिकित्सा शिक्षा नियमावलीमा त्रुटि भएको भन्दै त्यसलाई सच्याउँदै सरकारी सेवामा काम गरेको २ वर्ष भएकालाई मात्र छात्रवृत्तिमा अध्ययनका लागि व्यवस्था गर्न पत्र पठाएको थियो।
मन्त्रालयले करार र स्थायी दुवैले काम गरेको २ वर्ष पुगेपछि मात्र छात्रवृत्तिमा पढ्ने उम्मेदवार हुन पाउने व्यवस्था गर्न आयोगमा पत्र पठाएको थियो।