काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा पछिल्ला केही दिनयता छलफल जारी छ।
दुई अध्यक्षबीच निरन्तर छलफल भए पनि सहमति भने हुन सकेको छैन। कसलाई मन्त्री बनाउनेभन्दा पनि कुन–कुन मन्त्रीलाई हटाउने विषयमा दुई अध्यक्षबीच कुरा नमिल्दा पुनर्गठनबारे सहमति हुन नसकेको हो।
मन्त्रिपरिषद् पुनर्गठनको विषयमा शीर्ष नेतृत्व तह निष्कर्ष पुग्न नसके पनि नेकपाका मन्त्रीका आकांक्षी नेताहरूले भने दौडधुपलाई तीव्रता दिएका छन्। मन्त्रिपरिषद् पुनर्गठन भए थोरैमा ५ जना र धेरैमा १२ जनाले अवसर पाउने प्रधानमन्त्री निकट स्रोतले बताएको छ। तर अर्का अध्यक्ष प्रचण्ड र माधव नेपालले भने अहिलेका सबै मन्त्री हटाएर नयाँ ल्याउनुपर्नेमा जोड दिइरहेका छन्।
मन्त्रिपरिषद् पुनर्गठनको चर्चासँगै कोरोना महामारीमा प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई पनि हटाउनुपर्ने आवाज नेकपाभित्र उठिरहेको छ। उनका कार्यशैली र विवादित अभिव्यक्तिले पार्टी र सरकारको छवि बिगारेको नेकपा नेताहरूकै आरोप छ।
प्रचण्डसहित नेकपाका नेता माधवकुमार नेपाल र झलनाथ खनाल पनि ढकालको पर्फर्मेन्स कमजोर रहेको भन्दै हटाउनुपर्ने पक्षमा छन्।
कोरोना महामारीमा सबैभन्दा खटिनु पर्ने र जनअपेक्षा अनुसार काम गर्नुपर्ने स्वास्थ्य मन्त्री ढकालले काम गर्न नसकेको र सरकार तथा पार्टीलाई समेत विवादमा ल्याएको निष्कर्ष प्रचण्ड र नेपाल समूहको छ।
'सम्पूर्ण राज्यको ध्यान कोरोना महामारीमा केन्द्रित हुनुपर्ने समयमा मन्त्री ढकाल एकपछि अर्को विवादमा तानिँदै आएका छन्', नेकपाकै एक नेताले भने, 'मेडिकल सामग्री खरिददेखि कोरोना उपचार, व्यवस्थापन र रोकथामका लागि प्रभावकारी रुपमा गर्न नसकेको भन्दै उहाँलाई मन्त्रीबाट हटाउनुपर्ने पक्षमा नेकपामा धेरै नेताको जोड छ।'
उनका अनुसार ढकाललाई हटाएर उनको स्थानमा पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीलाई ल्याउनुपर्ने विषयमा पनि नेकपाका केही नेताले छलफल चलाएका छन्। अधिकारीले पनि विगतको अनुभवका आधारमा आफूले यो समयमा राम्रो काम गर्न सक्ने भन्दै मन्त्री बन्न इच्छा देखाएका छन्।
अधिकारीले स्वास्थ्य मन्त्रीमा इच्छा देखाएको चाल पाएपछि ढकाल भने चिढिएका छन्। आफूले सम्हाल्दै आएको मन्त्रालयमा अधिकारीले आँखा लगाएको भन्दै ढकाल अधिकारसँग चिढिएका हुन्। उनीहरुबीच लगभग बोलचान नै बन्दको अवस्था रहेको नेकपा नेताहरु बताउँछन्।
नेकपाका एक नेताका अनुसार ढकाललाई स्वास्थ्य मन्त्रीबाट हटाउन नहुने भन्दै अडान लिनेमा नेकपा महासचिव विष्णु पौडेल छन्। यस्तै ढकाललाई हटाएर अधिकारीलाई ल्याउनुपर्ने विषयमा जोड दिनेमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि छन्।
ढकाललाई हटाएर जनार्दन शर्मालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनुपर्ने विषयमा पनि नेकपाका केही नेताले आन्तरिक रुपमा छलफल गरिरहेको बताइएको छ। प्रचण्डले जनार्दन शर्मालाई स्वास्थ्यमा लैजान चाहेको नेकपाका एक नेताले बताए।
मन्त्रिपरिषद पुर्नगठनको चर्चासँगै मन्त्रीबाट हट्ने सूचीमा ढकाललाई नेकपाका धेरै नेताले पहिलो रोलक्रममै राखेको भए पनि प्रधानमन्त्री ओलीले भने उनलाई जोगाउन खोजेको प्रधानमन्त्री निकट नेताहरु बताउँछन्। यद्यपि, उनी पनि ढकालका कामबाट सन्तुष्ट भने छैनन्। तर आफू पक्षीय नेता भएकैले मन्त्री बनाइराख्ने चाहना ओलीको छ।
'आफ्नो गुटका नेताले जतिसुकै गल्ती गरे वा विवादमा तानिएपछि ओलीले छोप्ने गरेका कारण विवादित र काम नै गर्न नसके पनि ढकाल मन्त्रीबाट हट्ने सम्भावना निकै कम छ,' एक नेताले भने, 'तर पार्टीभित्र पुनर्गठनलाई लिएर कस्तो वातावरण बन्छ। त्यसैले बाँकी कुरा निर्धारण गर्छ। पुनर्गठन गरेर सरकारको काम प्रभावकारी बनाउन खोजिएको हो भने स्वास्थ्यमन्त्रीजी हट्नुहोला। भागबण्डा मात्रै मिलाउन खोजिएको हो भने त प्रधानमन्त्रीको मान्छेलाई किन हटाइएला र?