काठमाडौं- जिता बराल घटनाको छानबिन गर्न नेपाल नर्सिङ संघले बनाएको छानबिन समितिले एक साता बितिसक्दा पनि छानबिन प्रक्रिया अघि बढाउन सकेको छैन।
नर्स जिता बरालले राष्ट्रिय ट्रमा सेन्टरमा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि गरेको दुर्वयवहारका विषयमा सत्यतथ्य छानबिन गर्न संघले असोज ९ गते तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।
संघकी अध्यक्ष मनकुमारी राईले भने जिता बराल सम्पर्कमा नआएकोले छानबिन पक्रिया अगाडि बढ्न नसकको जवाफ दिएकी छिन्। उनी सम्पर्कमा नआई एकतर्फी निर्णय लिन नसकिने भन्दै छानबिन प्रक्रियामा ढिलाइ भएको राईको भनाइ छ।
उनले भनिन्, ‘हामीले एकतर्फी निर्णय लिन मिल्दैन, पहिला जिता बरालको कुरा सुन्छौँ, अनिमात्र छानबिन समितिले हामीलाई सुझाव दिन्छ। त्यसपछि के गर्ने भनेर प्रक्रिया अगाडि बढाउँछौँ।’
संघले न्याम्सकी जानकी धामीको संयोजकत्वमा न्याम्सकै राजकुमारी ज्ञवाली र पाटन अस्पतालकी दिलकुमारी थापा सदस्य रहने गरी ३ सदस्यीय छानबिन समिति बनाएको हो। छानबिन समितिले तीन दिनभित्र सत्यतथ्य बाहिर ल्याउने प्रतिवद्धता जनाएको थियो।
ट्रमा सेन्टरमा जिता बरालले अपशब्द प्रयोग गरी ड्युटीमा खटिएका डाक्टर र नर्समाथि दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो।
ट्रमा सेन्टरले नर्सिङ संघलाई आवश्यक कारबाहीका लागि पत्र लेख्दै उक्त घटनाको विषयमा आवश्यक कारबाही गरी अस्पताललाई समेत जानकारी गराउन अनुरोध गरेको थियो।
संघले पत्रकार सम्मेलन गरी संघकी आजीवन सदस्यसमेत रहेकी बरालको असामान्य र अमर्यादित गतिविधिबारे छानबिन गरी दोषी ठहरिएमा कारबाही गरिने जनाएको छ।