काठमाडौं- नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापालाई कोरोना भाइरसको संक्रमण भएको छ।
सोमबारबाट सुरु हुन लागेको कांग्रेसको केन्द्रिय समितिको बैठकका लागि कांग्रेसका नेताहरुको पिसिआर परीक्षण गरिएको थियो।
सो क्रममा थापासहित अर्जुननरसिंह केसी लगायतलाई कोरोना संक्रमण पोजिटिभ देखिएको हो।
कोरोना संक्रमण पोजिटिभ देखिएका पूर्व स्वास्थ्य मन्त्री थापालाई लक्षण भने देखिएको छैन।
'असाेज १५ गते पार्टी कार्यालयमा भएकाे पिसिआर परीक्षणमा मलाई काेभिड संक्रमण देखिएको जानकारी पाएँ।मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु।यस बिचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु' थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।