काठमाडौं- नेपाल चिकित्सक संघले अनशनरत डा गोविन्द केसीसँग वार्ता गरी माग सम्बोधन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ।
संघले आइतबार विज्ञप्ति जारी गर्दै सरकारलाई ७२ घण्टाको समय दिएको हो। उक्त अवधिमा पनि डा केसीका माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी समेत संघले दिएको छ।
डा केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन गरी संवादको माध्यमबाट सत्याग्रह अन्त्यको गराउन पनि संघले सरकारसँग अनुरोध गरेको छ।
‘७२ घण्टाभित्र पनि नेपाल सरकारले वार्ता टोली गठन गरी डा केसीको जीवन रक्षाका निम्ती कुनै पहल अगाडि नबढाइएको अवस्थामा नेपाल चिकित्सक संघले जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुनेछ, विज्ञप्ति भनिएको छ,‘ यसबाट उत्पन्न हुन सक्ने गम्भिर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुनेछ।’
डा केसी विभिन्न ६ बुँदे माग राखेर २९ भदौदेखि आमरण अनसनमा छन्। अनसनको २१ दिनसम्म पनि सरकारले माग पूरा गर्ने तर्फ कुनै चासो दिएको छैन।
अनसनका कारण डा केसीको स्वास्थ्य भने जटिल बन्दै गएको छ।
