काठमाडौं- चिकित्सा शिक्षा सुधारका माग राख्दै २१ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था निकै कमजोर बनेको छ। त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा केसीको रगतमा अक्सिजनको मात्रा निकै कम देखिएपछि उनलाई कृत्रिम अक्सिजन दिन थालिएको उनको उपचारमा संलग्न डा सुवास प्रसाद आचार्यले जानकारी दिएका छन्।
डा केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएको, श्वासको गति बढेको, चक्कर लाग्ने र अत्यधिक थकान हुनेलगायतका समस्या देखिएको अस्पतालले जानकारी दिएको छ।
यसअघि नै डा केसीको रगतमा डब्लुबिसीको मात्रा निकै कम भएको, सुगरको मात्रा पनि कम भएको र पोटासियमलगायतका तत्व पनि कम देखिएको थियो।
डा आचार्यको टोलीले अनसनरत डा केसीको स्वास्थ्य अवस्था जुनसकै बेला पनि गम्भीर हुन सक्नेसमेत बताएका छन्।
चिकित्सकहरूले उनको अवस्था खराब हुँदै गएको बताएपनि डा केसीले कुनै उपचार लिन मानेका छैनन्। उनले आफ्ना माग पूरा नहुन्जेल कुनै पनि उपचार नलिने अडान राख्दै आएका छन्।
सरकारले भने उनका मागप्रति कुनै चासो देखाएको छैन।
