काठमाडौं- डा गोविन्द केसीको समर्थन र जीवन रक्षाको माग गर्दै चिकित्सकहरुले र्याली गरेका छन्।
त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले कोभिड र इमर्जेन्सी बाहेकका सम्पूर्ण गतिविधि छोडेर त्रिवि अस्पतालदेखि महाराजगंजसम्म शान्तिपूर्ण र्याली गर्ने कार्यक्रम तय गरेका हुन्।
र्यालीमा सहभागी चिकित्सकहरुले 'हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डा केसीको साथमा', 'डा केसीको जीवन रक्षा गर', 'सरकार सुतेको र डा केसी जागेको आज २२औं दिन', 'डा केसीको माग पूरा गर', 'डा केसी व्यक्ति हैन, आवाज हुन्' लगायतका प्लेकार्ड बोकेका छन्।
डा केसीले १९औं अनसन सुरु गरेको सोमबार २२ दिन पुगेको छ। तर सरकारले उनको मागप्रति वास्ता देखाएको छैन। सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले अनसनको १८औं दिनमा अनसन फिर्ता लिन आग्रह गरेका थिए। तर डा केसीले भने अस्वीकार गरेका छन्।
पछिल्ला दिनमा डा केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गरेको चिकित्सकहरुले बताएका छन्।