काठमाडौं– साहित्यकारहरुले डा गोविन्द केसीको सत्याग्रहलाई बेवास्ता नगर्न आग्रह गरेका छन्। उनीहरुले आज विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका छन्। केसीको १९ औ अनशनको आज २३ औं दिन हो।
उनीहरुले स्वास्थ्य क्षेत्रलाई माफियाको चंगुलबाट मुक्त गर्न र सुशासन कायम गराउने विषयमा एकजना डाक्टरले लगातार सत्याग्रह गर्न बाध्य हुनुपर्ने अवस्था सृजना हुनु सरकारमा बस्नेहरुका लागि लज्जास्पद विषय भएको टिप्पणी गरेका छन्।
‘यसले हामी कस्तो लोकतन्त्रको अभ्यास गरिरहेका छौं भन्ने गम्भीर प्रश्न उब्जिएको छ ’विज्ञप्तिमा भनिएको छ‘, ‘संविधानले निर्दिष्ट गरेको नागरिकको स्वास्थ्य, कर्णालीलगायतका दूरदराजमा अस्पताल खोल्ने लगायत जनताका महत्वपूर्ण माग हुन् ।’
डा केसीको निष्ठाको यो लडाइँमा लामो मौनता देखाउँदा सरकारको चरित्र उदाङ्गो मात्रै भएको नभई सरकार उत्रनै नसक्ने गरि माफियाको चंगुलमा छ भन्ने देखाएको उनीहरुको विज्ञप्तिमा उल्लेख छ । तीर्थ श्रेष्ठ, भोजराज न्यौपाने, श्रीबाबु कार्की, ठाकुर बेल्वासे, मणी लोहनी र हेमन्त विवसले सरकारलाई तत्काल केसीसँग वार्ता गर्न आग्रह गरेका छन्।
स्वाथै–स्वार्थले आक्रान्त समयमा निस्वार्थ रुपमा एकजना नायक अहिंसात्मक आन्दोलनमा जुटिरहेकाले उनलाई सम्वोधन गर्न उनीहरुले आग्रह गरेका छन् ।