काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले २३ दिनयता अनसनरत डा गोविन्द केसीलाई अनसन फिर्ता गर्न आग्रह गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो आग्रह गर्ने निर्णय गरेको पार्टीका प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए।
'पहिले भएका सहमति कार्यान्वयन भइसकेको छ। नभएका विषयमा पछि छलफल गर्न सकिन्छ। अनसन फिर्ता लिन नेकपा आग्रह गर्दछ,' बैठकका निर्णय सुनाउँदै प्रवक्ता श्रेष्ठले भने।
यसअघि सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले पनि अनसन अन्त्य गर्न आग्रह गरेका थिए।
२३ दिनयता अनसनरत डा केसीले भने आफ्ना माग पूरा नहुन्जेल कुनै पनि हालतमा अनसन नतोड्ने अडान व्यक्त गर्दै आएको छ।
सरकारले डा केसीको अनसन र मागका सम्बन्धमा भने कुनै चासो व्यक्त गरेको छैन।