काठमाडौं- सरकारले दसैं मनाउँदा ज्येष्ठ नागरिकको सुरक्षालाई ध्यानमा राख्न आग्रह गरेको छ। मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले ज्येष्ठ नागरिकलाई कोरोना संक्रमणको जोखिम हुनसक्ने भएकाले सचेत रहन आग्रह गरेका हुन्।
'चाडबाडहरुको याम नजिक आउँदैछ। मेरो विशेष आग्रह छ- हामी स्वस्थ रह्यौं भने फेरिफेरि पनि चाडबाड मनाउन सक्छौं। दसैंको एउटा मुख्य विशेषता पारिवारिक पुनर्मिलन र आफूभन्दा ज्येष्ठ, वरिष्ठ र अग्रजबाट शुभाशिष लिने हो। तर ज्येष्ठ नागरिक, बुबाआमाहरु, हजुरबा हजुरआमाहरु, काकाकाकीहरु हुनुहुन्छ। त्यसैले दसैं मनाउँदा हाम्रा अभिभावकहरुको सुरक्षालाई अत्यन्तै ध्यानमा राख्नुपर्ने आवश्यकता छ', ज्ञवालीले भने।
उनले यस पटक सधैंजस्तो काठमाडौंबाट गाउँ र गाउँबाट फेरि काठमाडौं गर्दा कोरोना संक्रमण पनि सँगसँगै आउने र ओहोरदोहोर गर्ने जोखिम रहेको बताए। 'यो कुरालाई विशेष ध्यान राखिदिनुहोला', उनले आग्रह गरे, 'आशित हामीले टाढैबाट पनि लिन सक्छौं। उहाँहरु सुरक्षित र स्वस्थ रहनुभयो भने यस्ता अवसर पटकपटक आउँछन्। तर हाम्रो सानो लापरबाहीले उहाँहरुको स्वास्थ्यमा जोखिम बढ्न सक्छ।'
ज्ञवालीले ६० वर्षभन्दा मुनिकाको संक्रमणदर र त्यसपछि मृत्युदर पनि तुलनात्मक रुपमा कम भए पनि ६० वर्षभन्दा माथिकालाई जोखिम बढी भएको बताउँदै आशिर्वाद दिनेहरुलाई बचाउनुपर्ने बताए। 'अहिले स्वास्थ्य मन्त्रालय र सिसिएमसीले नारा तय गरेको छ- आशिर्वादलाई बचाऔं। आशिर्वाद हामीलाई पछिसम्म पनि चाहिन्छ', उनले भने।