काठमाडौं- वीर अस्पतालमा कोरोना संक्रमित एक पुरुषको खाना नलीमा अड्किएको हड्डी शल्यक्रिया गरेर निकालिएको छ।
रामेछापका ४३ वर्षीय रुद्र मगरको खाना नलीमा अड्किएको हड्डी शल्यक्रिया गरेर निकालिएको वीर अस्पतालले जनाएको छ। असोज यही १४ गते खाना खाने क्रममा दुई वटा कुखुराको हड्डी उनको खाना नलीमा अड्किएको थियो।
सुरुमा उनी उपचारका लागि नेपाल कोरिया अस्पताल पुगेका थिए। नेपाल कोरिया अस्पतालले रिफर गरेपछि १६ गते मात्र वीर अस्पतालमा भर्ना भएको वीरका इएनटी सर्जन डा ओमप्रकाश यादवले बताए।
शल्यक्रिया गर्नुअघि उनको कोरोना परीक्षणका लागि पिसिआर परीक्षण समेत गरिएको थियो। १९ गते आएको रिपोर्टमा उनको कोरोना पोजेटिभ आएको डा यादवले जानकारी दिए।
कोरोना पोजेटिभ भए पनि आफूहरुले आवश्यक सतर्कता अपनाई पिपिई लगाएर शल्यक्रिया गरेको उनले बताए। उनी कोरोना संक्रमित भएका कारण शल्यक्रिया चुनौतीपूर्ण भएको उनले बताए।
उनले भने, ‘यो शल्यक्रिया हाम्रो लागि चुनौतीपूर्ण थियो। किनभने हामीले कोरोना संक्रमितको शल्यक्रिया गर्दै थियौं। यो शल्यक्रिया आफैंमा जटिल थियो, त्यहींमाथि कोरोना संक्रमित पनि। त्यसैले सबै सावधानी अपनाएर, फुल पिपिई लगाएर हामीले खाना नलीमा अड्किएको हड्डी निकाल्न सक्यौं।’
निकालिएको हड्डी २ दशमलव ५ र १ दशमलव ५ सेन्टिमिटरको रहेको अस्पतालले जनाएको छ। शल्यक्रियामा डा यादव सहित डा धिरज विशंखा, डा सुदिन कायस्थ एनेस्थेसियाका डा कौशल तामाङ र डा सवनम संग्रौला र नर्समा कृति गुरागाईं संलग्न थिए।
ती बिरामी हाल अस्पतालको कोभिड वार्डमा छन्। उनको अवस्था सामान्य भए पनि कोरोना संक्रमित भएका कारण दुई साता अस्पतालमै रहनुपर्ने डा यादवले बताए।
उनले भने, ‘बिरामी अहिले ठिक छन्। आज पानी पनि हामीले खान दिएका छौं। तर कोरोना संक्रमित भएकाले उनी आइसोलेसनमा छन्। कोरोनाका कारण बिरामीको अवस्था कस्तो हुन्छ, त्यो अहिले भन्न सकिँदैन। १४ दिनपछि नै थाहा हुन्छ।’