काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २४ दिनयता अनसनरत डा केसीका मागप्रति सरकारले कुनै चासो नदेखाएको भन्दै आक्रोश व्यक्त गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले यस्तो आक्रोश पोखेको हो।
'डा केसीको स्वास्थ्य स्थिति जटिल बन्दै गएको छ। वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महँगो पर्नेछ प्रधानमन्त्रीज्यू। लोकतन्त्र भर्सेस कम्युनिस्टतन्त्रमा अन्ततः जित लोकतन्त्रकै हुनेछ। डा केसीको आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस्,' काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसका पालामा डा केसीका थुप्रै माग सम्बोधन गरिएको दाबी कांग्रेसको छ। कांग्रेसका पालामा पूरा गरिएका डा केसीका माग उल्टाएको आरोप समेत कांग्रेसले ओली नेतृत्वको सरकारलाई लगाएको छ।
२४ दिनयता अनसन बस्दा डा केसीको स्वास्थ्य अवस्था कमजोर भएपनि उनले उपचार लिन मानेका छैनन्। सरकारले भने बेला सुहाँउदो नभएको भन्दै डा केसीलाई गलाएर अनसन तोडाउने पक्षमा छ। तर केसीले आफ्ना माग पूरा नहुन्जेल अनसन नतोड्ने अडान राख्दै आएका छन्।
