काठमाडौं- चिकित्सा शिक्षा सेवा सुधारका लागि डा गोविन्द केसी अनसन बसेको २५औं दिनमा सरकारले वार्ताका लागि बोलाएको छ।
डा केसीले उठाएका मागका विषयमा छलफल गर्न बिहान साढे १० बजे शिक्षा मन्त्रालयमा वार्ता हुँदैछ। सरकारी वार्ता टोली र डा केसीका प्रतिनिधिबीच छलफल हुन लागेको हो।
शिक्षा सचिव गोपीनाथ मैनाली, सहसचिव जीवराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलिप शर्मा सरकारी वार्तामा टोलीमा छन्। डा केसीको वार्ता टोलीमा डा जीवन क्षेत्री, डा अञ्जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल, नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की सहभागी छन्।
२५ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ। डा केसीको शरीरमा अत्यावश्यक तत्वहरुको कमी हुनाको साथै रक्तचापमा पनि कमी आएको छ। डा केसीले गत भदौ २९ गतेदेखि जुम्लाबाट अनसन सुरु गरेका थिए।
डा केसीको माग सम्बोधनका लागि देशका विभिन्न स्थानमा धर्ना तथा प्रदर्शन भइरहेका छन्।