काठमाडौं –चिकित्सा क्षेत्रमा सुधारका अभियन्ता डा गोविन्द केसी पक्ष र सरकारबीच वार्ता जारी छ। सरकारी टोली र डा केसी पक्षबीच ६ वटै मागमा बुँदागत छलफल भएको छ।
छलफलले बुँदागत रुपमा मागलाई सम्बोधन गर्ने गरी पहिलो मस्यौदा तयार पारेको छ। उक्त मस्यौदाका विषयमा थप सुझाव लिन सरकार र डा केसीकहाँ पठाइएको छ।
'बिहान साढे १० बजेपछि सुरु भएको वार्ता अझै जारी छ। केही समय खाजा खान र पहिलो मस्यौदाका विषयमा सुझाव लिन ब्रेक लिइएको लिइएको हो,' वार्तामा सहभागी एक सदस्यले भने, 'उक्त मस्यौदामा आएको सुझावका आधारमा फेरि वार्ता जारी रहन्छ।'
डा केसी अनशन बसेको २५ औं दिनमा सरकारले वार्ता सुरु गरेको हो। मंगलबार दुई पक्षले वार्ता टोली गठन गरेका थिए।
सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेलगत्तै केसी पक्षको वार्ता टोली बनेको थियो।
डा केसीको पक्षबाट डा जीवन क्षेत्रीले वार्ताको नेतृत्व गरेका छन्। केसीको तर्फबाट चार सदस्यीय वार्ता टोली बनेको थियो।