काठमाडौं- अनसनरत डा गोविन्द केसीको मागका विषयमा आज गर्ने भनिएको वार्ता अन्योलमा परेको छ। सरकारी टोलीले समय नतोक्दा वार्ता अन्योलमा परेको हो।
दिउँसो ४ बजेसम्म वार्तामा नबोलाए आन्दोलन चर्काउने वार्तामा सहभागी डा केसी पक्षका एक सदस्यले बताए। डा केसीलाई मृत्यु शय्यामा छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता विलम्ब गराइरहेको उनको भनाइ छ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बिहीबार भएको वार्तामा डा केसीले उठाएका मागका विषयमा छलफल भएको थियो। बिहान साढे १० बजेदेखि बसेको वार्ता अन्तिम निष्कर्षमा भने पुग्न सकेको थिएन।
वार्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा र डा केसीको पक्षबाट डा जीवन क्षेत्रीको नेतृत्वमा टोली गठन गरिएको छ।
डा केसी अनसन बसेको २३औं दिनमा सरकारले वार्ता सुरु गरेको हो। मंगलबार दुई पक्षले वार्ता टोली समेत गठन गरेका थिए।
यता, २६ दिनदेखि अनसरत डा केसीको स्वास्थ्य अवस्था झन् बिग्रँदै गएको चिकित्सकले बताएका छन्। डा केसीलाई श्वासप्रश्वासमा थप कठिनाइ भएको, शरीरमा अक्सिजनको मात्रा घटेको डा सुवास आचार्यले बताए।
मेडिकल टिमले गरेको जाँचमा डा केसीलाई निमोनिया हुन सक्ने लक्षण देखिएको छ। थप परीक्षण हुँदै गरेको र छातीको सिटी स्क्यान गुर्नपर्ने डा आचार्यले बताए।