काठमाडौं - नेपाल चिकित्सक संघले पुनः आन्दोलनका कार्यक्रम ल्याउने तयारी गरेको छ। डा गोविन्द केसी र सरकार बीचको वार्ता निष्कर्ष विहीन भएपछि संघले आन्दोलनका कार्यक्रम ल्याउने तयारी गरेको हो ।
संघले शनिबार दिउँसो ४ बजे आकस्मिक बैठक समेत बोलाएको छ । अनसनरत डा केसीको जीवन रक्षा र माग पुरा गर्न सरकारले कुनै ठोस कदम नउठाएकाले आकस्मिक बैठक बोलाएको संघका अध्यक्ष डा लोचन कार्कीले बताए । बैठकले आकस्मिक र कोरोना संक्रमितको उपचार बाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्ने डा कार्कीले जानकारी दिए ।
यसअघि बिहीबार संघले डा केसीको माग सम्बोधनका लागि त्रिवि शिक्षण अस्पताल सहित देशभरका स्वास्थ्य संस्थामा कालो पट्टी बाँधेर रिले अनसन गरेका थिए। बिहीबार नै संघले बिहान दुई घण्टा सेवा बहिष्कार समेत गरेका थिए।
माग सम्बोधनका लागि वार्ता भइरहेको भन्दै संघले शुक्रबारको सेवा बाहिष्कारको कार्यक्रम स्थगित गरेको थियो। तर सरकारले माग पुरा गर्ने नाममा आलटाल गरेको भन्दै संघले पुनः आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको हो।