काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर प्रकृतिका कोरोनाका बिरामीको उपचारका लागि ‘कोभिड–१९ बिरामीलाई एयर लिफ्टिङ गर्ने सम्बन्धी मापदण्ड २०७७’ जारी गरेको छ।
गम्भीर प्रकृतिका बिरामीका लागि सुरक्षित रुपमा छिटो–छरितो माध्यमबाट विमानमार्फत एयर लिफ्टिङ गर्नुपर्ने भएकाले उक्त निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ। यो मापदण्ड गम्भीर प्रकृतिका कोभिड–१९ बिरामीका लागि मात्र लागू हुनेछ। साधारण र मध्यम प्रकृतिका बिरामीका लागि एयर लिफ्टिङ नगरिने मन्त्रालयले जनाएको छ।
उपचाररत अस्पतालमा बिरामीको उपचार सम्भव नभएको भनी उपचाररत चिकित्सकले अनिवार्य रुपमा रिफर गरेको हुनुपर्ने छ। रिफर गरिएको अस्पतालमा बिरामीको भर्ना गरी उपचार सम्भव भएको यकिन गरेर मात्र एयर लिफ्टिङ प्रक्रिया गर्नुपर्ने, विमान अवतरण गर्ने स्थानबाट बिरामीलाई अस्पतालसम्म पु¥याउनका लागि मापदण्ड पूरा गरेका एम्बुलेन्सलाई अग्रिम निश्चित गरेको हुनुपर्ने मापदण्डमा उल्लेख छ।
एयर लिफ्टिङ गर्दा विमान (हवाइजहाज, हेलिकोप्टर, एयर एम्बुलेन्स) ले जनस्वास्थ्यका मापदण्ड अपनाई कोभिड–१९ बिरामीको ओसारपसार गर्नुपर्ने मन्त्रालयले जनाएको छ।
मापदण्ड अनुसार विमानमा एक जना मेडिकल अफिसर सहित कम्तीमा दुई जना स्वास्थ्यकर्मी अनिवार्य रुपमा हुनुपर्ने छ। सोको व्यवस्था भने विमान कम्पनीले नै गुर्नपर्ने मन्त्रालयको मापदण्ड छ।
विमानमा अक्सिजनका साथै लाइफ सेभिङ मेडिसिनहरु, पर्याप्त मात्रामा पिपिई, सेनिटाइजर, डिसिन्फेक्टेन्टस लगायत औषधि तथा औषधिजन्य सामग्री अनिवार्य रुपमा हुनुपर्ने, विमान चालक दलका कर्मचारी, स्वास्थ्यकर्मी, बिरामी तथा बिरामीका आफन्तले अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने र विमानबाट बिरामीलाई उतारिसकेपछि निसंक्रमण गरेर मात्र दोस्रो उडान मापदण्डमा उल्लेख छ।
एयर लिफ्टिङका लागि चार्टर गरेको विमानको भाडा बुकिङ गर्ने व्यक्ति वा संस्थाले भुक्तानी गर्नुपर्ने हुन्छ। विमान कम्पनीहरुले निश्चित तोकिएको शुल्कभन्दा बढी भाडा लिन नपाइने मापदण्डमा उल्लेख छ।