कोभिड-१९ भिडियो

नेपालमा कत्तिको छ कोरोना पुनः संक्रमणको सम्भावना?

कोरोनाको पुनः संक्रमण किन र कसरी हुन्छ?

प्रा.डा. अरूण सेढाईं

संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणले नेपाललाई पनि अछुतो राखेको छैन। पछिल्लो समय दैनिक पाँच हजारकाे दरमा नयाँ संक्रमितको संख्या बढ्दै गरेको छ। अधिकांश अस्पतालहरुमा कोभिडका बिरामीका लागि भनेर छुट्टाइएका बेड पूर्ण रुपमै भरिएका छन्। अस्पतालका आइसीयु र भेन्टिलेटरहरु खाली नभएका सूचना आइरहेका छन्।

यसरी एकातिर नयाँ बिरामीको संख्या बढ्दै रहेको अवस्था छ भने अर्कोतिर एकपटक कोरोनाको संक्रमण भएर निको भइसकेका व्यक्तिमा पुनः संक्रमण हुनसक्ने सम्भावना पनि उत्तिकै रहेको छ र आगामी दिनमा यसले अरु बढी चुनौती थप्दै जाने छ भन्ने कुरा निर्विवाद छ। यसै परिप्रेक्ष्यमा यस आलेखमा कोरोनाको पुनः संक्रमणका बारेमा थोरै चर्चा गर्ने जमर्को गरिएको छ।

विश्वमा कोरोना संक्रमणको अवस्था कस्तो छ?
हालसम्म रुस, बेलायत, बेल्जियम, नेदरल्यान्ड्स, अमेरिका र कोरियालगायतका मुलुकहरूमा कोरोनाको दोहोरिएर हुने पुनः संक्रमणका घटनाहरू प्रकाशमा आएका छन्। तर हालसम्मको सबैभन्दा आधिकारिक र भरपर्दो रिपोर्ट गत अगस्ट २५ मा 'क्लिनिकल इन्फेक्सियस डिजिजेज' नामको जर्नलमा प्रकाशित भएको थियो, जसमा हङकङ निवासी एकपटक कोरोना लागेर निको भइसकेका एक व्यक्तिमा १४२ दिनपछि पुनः संक्रमण भएको भेटियो।

भाइरसको अनुवांशिक अध्ययन गरी हेर्दा पुनः संक्रमणमा भेटिएको कोरोना पहिलो संक्रमणमा भेटिएको कोरोना भाइरसभन्दा फरक प्रकृतिको पाइयो। यसलाई नै कोरोनाको पुनः संक्रमणसँग सम्बन्धित अहिलेसम्मको सबैभन्दा आधिकारिक घटनाका रुपमा मानिएको छ।

कोरोनाको पुनः संक्रमण किन र कसरी हुन्छ?
कोरोनाको पुनः संक्रमणका बारेमा चर्चा गर्नु पर्दा हाम्रो शरीरमा हुने प्रतिरक्षा प्रणालीसँग सम्बन्धित तीनवटा पक्षको बारेमा प्रष्ट गर्नुपर्ने जरुरी देखिन्छ।

१) एन्टिजेन-ब्याक्टेरिया वा भाइरसको बाहिरी तहमा एक प्रकारको प्रोटिनजन्य पदार्थ हो, जसले प्राणी र मानिसको शरीरमा प्रवेश गरेर रोग लगाउन सक्ने गुण बोकेको हुन्छ।

२) एन्टिबडी-यो हाम्रो शरीरमा हुने सेतो रक्त कोषले बनाउने प्रोटिनजन्य पदार्थ हो, जसले कुनै पनि जीवाणुको संक्रमणका विरुद्ध सक्रिय भएर जीउमा रोगप्रतिरोधी क्षमताको विकास गरेर ज्यान बचाउने काम गर्दछ।  यी एन्टिबडीहरु मुख्य रुपमा दुई प्रकारका हुन्छन्-
क) आइजिएम एन्टिबडी-कुनै पनि संक्रमणको केही घन्टादेखि केही दिनभित्रमा नै बन्न थाल्दछ र ७ देखि १४ दिनभित्रमा निष्क्रिय बन्न थाल्छ।
ख) आइजिजि एन्टिबडी- संक्रमणको हप्तादिन जति पछाडि यो खालको एन्टिबडी बन्न थाल्छ र कुनै-कुनै संक्रमणमा जिन्दगीभरि रगतमा रहिरहन सक्छ र यसैको मात्राको आधारमा कति समयसम्म पुनः संक्रमणको जोखिम रहन्छ भन्ने कुराको अनुमान गर्न सकिन्छ।

३)स्मृति कोष- एकपटक भाइरस वा ब्याक्टेरियाको संक्रमण भइसकेपछि शरीरले बनाएको जीवाणु प्रतिरोधी कोषहरू लामो समयसम्म सक्रिय रहन नसके पनि मानव शरीरमा त्यो संक्रमण गराउने जीवाणुहरुलाई स्मरण गरिराख्ने प्रणाली विकास भएको हुन्छ। पुनः त्यहीँ वा त्यस्तै खालका जिवाणुले आक्रमण गर्न खोजेको खण्डमा प्रतिरोधी क्षमतालाई सक्रिय बनाई शरीरलाई संक्रमणबाट बचाउने काम गर्दछन्।


कोरोना संक्रमणको पुनः संक्रमणका लागि रोग प्रतिरोधी क्षमतासम्बन्धी निम्नलिखित मुख्य  कारक तत्वहरुले प्रभाव पार्न सक्दछ- 

१) ब्यक्तिको शरीरमा यथेष्ट रोगप्रतिरोधी क्षमताको विकास नहुनु वा विकसित भएका एन्टिबडीहरु निकै छिटो निष्क्रिय हुनु।

२) कोरोनाको स्वरुपमा छिटोछिटो अनुवांशिक परिवर्तन हुन जानु, जसलाई पहिलो संक्रमणको क्रममा शरीरमा बनेको प्रतिरक्षा प्रणालीले पहिचान गरेर निष्क्रिय पार्न नसक्नु।

३) यथेष्ठ मात्रामा स्मृति कोषहरुको विकास हुन नसक्नु, जसले गर्दा कोरोनाको भाइरसले पुनः आक्रमणको क्रममा जिउले पहिचान गर्न नसक्नु।

लक्षण नभएका कोरोनाका बिरामीहरुमा ज्यादै नगन्य मात्रामा एन्टिबडीको विकास हुने र लक्षण भएका व्यक्तिहरुमा एन्टिबडीको प्रचुर निर्माण भएको भेटिन्छ। यस अनुसार सुरुकाे संक्रमणमा लक्षण नभएका कोरोना संक्रमितलाई कोरोनाको पुनः संक्रमण हुनसक्ने अति प्रबल सम्भावना देखिन्छ।
 
प्रतिरक्षा प्रणाली र भ्याक्सिनको कस्तो सम्बन्ध हुन्छ?
भ्याक्सिनको निर्माण कुनै पनि निष्कृय पारिएका वा मरेका जीवाणु अथवा उनीहरुले उत्पन्न गर्ने विषाक्त पदार्थ, जसलाई टक्सिन भनिन्छ, बाट गरिएको हुन्छ। प्रोटिनजन्य एन्टिजेनिक पदार्थलाई शरीरमा प्रवेश गराएपछि कुनै उल्लेखनीय संक्रमण र लक्षणविना नै शरीरकाे प्रतिरोधात्मक क्षमतालाई सक्रिय बनाउँछ। भविष्यमा कुनै त्यस्तै प्रकारको किटाणुले संक्रमण गर्न खोजेको खण्डमा शरीरमा विकसित भएको प्रतिरोधात्मक क्षमताले संक्रमण हुन दिँदैन र शरीरलाई बचाउँछ।

भ्याक्सिन निर्माणको वास्तविक प्रभावकारिता यसले कति मात्रामा प्रतिरोधात्मक क्षमताको विकास गराउँछ र त्यो क्षमता कति लामो समयसम्म सक्रिय रहन्छ भन्ने प्रक्रियाले निर्धारित गरेको हुन्छ। एकातिर अहिले प्रारम्भिक परीक्षण क्रममा रहेका कोरोनाविरुद्धका सयौं प्रकारका भ्याक्सिन हरुको प्रभावकारिता कस्तो हुन्छ भन्ने कुरा रहस्यकै गर्भमा नै रहेको छ भने अर्कोतर्फ यसरी उत्पादित हुने भ्याक्सिनहरुको सर्वसुलभ र सहज वितरण र आम जनमानसको पहुँचमा कतिको पुर्‍याउन सकिन्छ भन्ने चुनौती टड्कारो रहने नै छ। साथै कोरोना संक्रमणबाट बचाउने प्रतिरोधात्मक क्षमतालाई बचाइराख्नका निमित्त कति अन्तरालमा भ्याक्सिन दिनुपर्छ भन्ने कुराको निर्क्यौल पनि भइसकेको छैन

नेपालमा कोरोनाको पुनः संक्रमणको अवस्था कस्तो छ?
नेपालको हकमा हामी कोरोना संक्रमणको पहिलो चरणको अवस्थामा नै छौँ र यो क्रम बढ्दै गएको छ। पहिलो पटकको रोगबाट निको भइसक्नु भएका अधिकांश व्यक्तिहरुले पहिलो पटकको संक्रमण निको भइसकेपछि पुनः संक्रमणका लागि आवश्यक पर्ने यथेष्ट समय व्यतित गरिसक्नुभएको छैन।

त्यसकारण आजकै अवस्थामा पुनः संक्रमणका घटना भइहाल्ने बेला भइसकेको छैन। तर अन्य देशका अनुभवका आधारमा कोरोना भाइरसको पुनः संक्रमण हुन सक्ने सम्भावना उत्तिकै रहेकाले रोग नियन्त्रणका सवालमा यसले अर्को चुनौती खडा गर्न सक्ने सम्भावनालाई हृदयांगम गर्दै आम जनमानस र सम्बन्धित निकाय चनाखो भएर अगाडि बढ्नु पर्ने देखिन्छ। 

(प्राध्यापक, चितवन मेडिकल कलेज)

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने