काठमाडौं - चार महिनादेखि तलब नपाएको भन्दै जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीहरु आन्दोलित बनेका छन्।
कोरोना महामारीको समयमा जोखिम मोलेर काम गरेपनि अस्पतालले चार महिनादेखि तलब नदिएको भन्दै उनीहरु आन्दोलित बनेका हुन्।
अस्पतालले नियमित चार महिनाको तलब, ६ वर्षको संजय कोष नदिएको तथा तलब वृद्धि नगरेकाले आन्दोलन गर्नु परेको जानकी मेडिकल कलेज तथा कर्मचारी हकहित संरक्षण संघष समितिका संयोजक उमेश यादवले बताए।
उनले भने, ‘हामीले चार महिनादेखि तलब पाएका छैनौं, ६ वर्षदेखिको संचय कोषको रकम पनि पाएका छैनौं। व्यवस्थापन पक्षलाई पटक पटक भन्दा पनि बेवास्त गरिरहेको छ।’
व्यवस्थापन पक्षले तलब दिनका लागि कुनै पहल नगरेकाले अस्पतालको सेवा ठप्प पार्न बाध्य भएको उनको भनाई छ। जानकी अस्पतालमा दुई सातादेखि इमरजेन्सी बाहेक अन्य सबै सेवा ठप्प छ।
२०७५ को चैत १५ गतेसम्म सबै कर्मचारी, फ्याकल्टी तथा चिकित्सकहरुको लेखा शाखासँग् व्यक्तिगत हरहिसाब पारदर्शी गर्ने र १६ गतेदेखि उनीहरुले हिसाब लिन पाउने अस्पतालले निर्णय गरेको थियो।
अस्पतालको व्यवस्थापन पक्षले आफुहरुसँग गरेका ती सहमतिहरु कार्यान्वयन नगरेको उनीहरुको आरोप छ। कार्यान्वयनका लागि पटक पटक ध्यानाकर्षण गराउँदा पनि उनीहरुले बेवास्ता गरेको संयोजक यादवले बताए।
उनले भने, ‘हामीसँग व्यवस्थापन पक्षले पटक पटक प्रतिवद्धता पनि ग¥यो। तर ती प्रतिवद्धता पनि उनीहरुले कार्यान्वयन गरेका छैनन्।’
हालसम्मको बाँकी बक्यौता तलब भत्ता एकमुष्ट रुपमा भुक्तानी गर्नुपर्ने सहित ६ बुँदे माग उनीहरुले अघि सारेका छन्।
इमरजेन्सी, आइसियु, ओटी, क्लिनीकल प्याथोलोजी ल्याब, एक्सरे लगायतको फ्रन्टलाइनमा काम गर्ने कर्मचारीहरुलाई पिपिई, केएन ९५, सेनिटाइजर उपलब्ध गराउन, सम्पूर्ण कर्मचारीको जीवन बिमा र जोखिम भत्ता उपलब्ध गराउनुपर्ने तथा पिसिआर परीक्षण गराउनुपर्ने लगायत ६ बुँदे माग उनीहरुको छ।
अस्पतालले आफुहरुको बाँकी तलब भुक्तानी नगरे आन्दोलनका अन्य कार्यक्रमहरु ल्याउन बाध्य हुने संयोजक यादवले बताए। उनका अनुसार हाल उक्त अस्पतालमा करिब साढृे २ सय कर्मचारी छन्।