काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण परीक्षणका लागि गरिने एन्टिजेन बेस्ड टेस्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मान्यताप्राप्त ल्याबले मात्र गर्न पाउने निर्णय गरेको छ।
उक्त टेस्टको शुल्क अधिकतम एक हजार हुने बताइएको छ। मन्त्रालयले सो शुल्क परिमार्जन हुँदै जानेसमेत बताएको छ।
मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई पत्र पठाई एफडिए, इयुएबाट मान्यताप्राप्त र स्वास्थ्य सेवा विभागबाट मान्यताप्राप्त किटहरु मात्र सूचीकृत गर्न समेत निर्देशन दिएको छ।
बायोसेफ्टी प्रोटोकल नमुना संकलन विधि तोकेबमोजिम हुने र नमुना संकलन विधि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेबमोजिम हुने मन्त्रालयले जनाएको छ।
परीक्षण पोजिटिभ आएमा काठमाडौंमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, सम्बन्धित स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिलाई दिनुपर्ने र नेगेटिभ आएमा सम्बन्धित व्यक्तिलाई रिपोर्ट दिइने मन्त्रालयले जनाएको छ।