विश्व स्वास्थ्य

कोरोना संक्रमण बढेपछि फ्रान्सका ९ सहरमा रात्रिकालीन कर्फ्यु लगाइयो

एजेन्सी– कोरोना संक्रमण बढेपछि फ्रान्सको राजधानी पेरिससहित ९ वटा सहरमा रात्रिकालीन कर्फ्यु लगाइएको छ। फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले कोरोना संक्रमण नियन्त्रण गर्न शनिबारदेखि ती सहरमा रातको समयमा कर्फ्यु लगाइएको र राति ९ बजेदेखि बिहान ६ बजेसम्म मानिसहरु घरैमा बस्नुपर्ने जनाएका छन्। 

बुधबार ४ सातासम्मका लागि स्वास्थ्य संकटकाल घोषणा गरिएको हो। बुधबार फ्रान्समा २२ हजार ९ सय ५१ जनामा कोरोना संक्रमित थपिएका थिए। 

कोरोना संक्रमण पुनः बढ्न थालेपछि फ्रान्ससहित युरोपेली मुलुकहरुमा विभिन्न खालका प्रतिबन्धहरु घोषणा गरिएका छन्। नेदरल्याण्डमा पनि राति १० बजेदेखि आंशिक लकडाउन घोषणा गरिएको छ। यस्तै, स्पेनको उत्तरपूर्वी क्षेत्र क्याटोलोनियामा पनि रेस्टुरेन्ट बन्द गरिएको छ। 

यस्तै, चेक गणराज्यमा पनि स्कुल र बारहरु बन्द गरिएका छन्। त्यहाँ प्रति १ लाखमा ५८१ जनामा संक्रमण देखिएको छ। यस्तै, रुसमा बुधबार १४ हजार ३ सय २१ संक्रमित थपिएका छन् भने २ सय ३९ जनाको मृत्यु भएको छ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने