काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकाका ठूला अस्पतालको सेवा चुस्त बनाउनका लागि निगरानी गर्ने जिम्मेवारी तीन महाशाखा प्रमुखलाई दिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएकाले अस्पतालबाट प्रदान भइरहेका स्वास्थ्य सेवा चुस्तदुरुस्त बनाउन, प्रदान भइरहेका सेवाको गुणस्तर कायम गर्न उनीहरुले भूमिका खेल्ने बताए।
उनले भने, ‘ती अस्पतालमा आइपर्ने समस्याहरुको तत्काल समाधान गर्ने लगायतका समग्र व्यवस्थापनका लागि महाशाखा प्रमुखहरुलाई जिम्मेवारी दिइएको छ।’
स्वास्थ्य मन्त्रालयले मन्त्रालयकै नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनीलाई वीर अस्पताल, पाटन अस्पताल, किस्ट अस्पताल, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज र कोभिडका उपचार गर्न सम्झौता गरेका निजी अस्पताल हेर्ने जिम्मेवारी दिएको छ।
त्यसैगरि, गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा विकास देवकोटालाई कान्ति अस्पताल, धुलिखेल, निजामती, सम्झौता नभएका निजी अस्पताल हेर्ने जिम्मेवारी दिइएको छ ।
प्रवक्ता एवम् स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा जागेश्वर गौतमलाई प्रसूति गृह, त्रिवि शिक्षण, प्रहरी, वीरेन्द्र सैनिक अस्पताल हेर्ने जिम्मेवारी दिइएको छ।
जिम्मेवारी पाएका उनीहरुले अस्पतालहरुमा कोभिड आइसियु भेन्टिलेन्टरको व्यवस्थापन गर्ने, नियमित सम्र्पक गरी जानकारी लिने, कोभिड अस्पतालहरुसँग मन्त्रालयका तर्फबाट सम्झौता गर्ने, जनशक्ति व्यवस्थापन आवश्यकता अनुसार थपघट,घटनपटन गर्ने, आपूर्ति व्यवस्थापन गर्ने, आर्थिक समस्या समधान गर्न मन्त्रालयमा सिफारिस गर्ने, कोभिड र ननकोभिडको अनुपातको आधार काम गर्ने र बिरामीको उपचार नगरी अन्यत्र पठाएको पाइएमा कारवाहीको मन्त्रालयमा सिफारिस गर्ने अधिकारी दिइएको मन्त्रालयले जनाएको छ।