काठमाडौं– कान्तिपुर डेन्टल कलेजका सञ्चालक बुद्धिमान श्रेष्ठले स्याङ्जाकाे चापाकोटमा सुरु गरेको आँखा उपचार केन्द्रबाट कोरोना संक्रमण फैलिएको छ।
असोज १५ मा श्रेष्ठले आफ्नो जन्मस्थान चापाकोटमा आँखा उपचार केन्द्र सुरु गरेका थिए। केन्द्र सञ्चालन गर्न गएका श्रेष्ठलाई नै कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका अन्यको स्वाब संकलन गरिएको थियो। ३९ जनाको स्वाब संकलन गर्दा १४ जनामा संक्रमण देखिएको चापाकोटका स्वास्थ्य प्रमुख विन्दु कोइरालाले जानकारी दिए।
१४ जनालाई संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेका अन्य ४२ जनाको बुधबार स्वाब संकलन गरिएको कोइरालाले जानकारी दिए। स्वाब संकलन गरिएका व्यक्तिहरुमा लक्षणसमेत देखिएको कोइरालाले बताए। संक्रमण देखिएकालाई हेलुस्थित आइसोलेसनमा राखिएको छ। संक्रमितलाई राखिएको आइसोलेसन अव्यवस्थित भएकाले चापाकोट नै सार्न लागिएको बताइएको छ।
कोइरालाले भने,‘संक्रमितलाई राखेको आइसोलेसन सुविधाजनक नभएकाले नगरपालिकाले आइसोलेसन बनाएर फर्काउन लागिएको छ।’ ३० जना क्षमता बराबरको आइसोलेसन निर्माणाधीन रहेको बताइएको छ।
उद्घाटनको दिन डेढ सय बढीले आँखाको परीक्षण गराएका थिए। उद्घाटनको दिनमा आँखा परीक्षणमा खटिएका चिकित्सकमा समेत कोरोना संक्रमण देखिएको थियो। चापाकोट ९ को सुन्तलीटारमा बिएम टिपिबी फाउण्डेसनमार्फत् श्रेष्ठले आँखा उपचार केन्द्र खोलेका थिए। आँखा उपचार केन्द्र खुलेकै दिनदेखि संक्रमण बढेपछि स्थानीयले श्रेष्ठलाई दोष दिएका छन्।
कोरोनाको लक्षण देखिएपछि श्रेष्ठले परीक्षण गराएका थिए। असोज ११ गते चापाकोट पुगेका श्रेष्ठ २० गते काठमाडौं फर्केका थिए। श्रेष्ठको असोज २२ मा पोजेटिभ देखिएको थियो। श्रेष्ठ हाल आफैंले सञ्चालन गरेको कान्तिपुर डेन्टल अस्पताल बसुन्धरामा आइसोलेसनमा छन्। आइसोलेसनमा रहेका श्रेष्ठले भने,‘स्थिति चापाकोटमा भयावह छ। मान्छे कसैले मास्क लगाउँदैनन्। मसँग भेट्न आउनेहरु पनि संक्रमित भइसकेका थिए।’
तर श्रेष्ठले सञ्चालन गरेको आँखा उपचार केन्द्रकै कारणले संक्रमण बढेको स्थानीयको दाबी छ। तर, श्रेष्ठ स्थानीयको आरोपलाई प्रतिवाद गर्छन्। स्थानीय नै सचेत नहुँदा संक्रमण फैलिएको उनले बताए। ‘काठमाडौबाट हामीले कोरोना बोकेर लगेजस्तो गरे। भीड कम गर्न खोजेकै हो। ठूलो डाक्टर गएपछि गाउँघरका झुम्मिछन्। भनेकाे कसैले टेरेनन्।’
कोरोना संक्रमणको बेलामा शिविर सञ्चालन गर्न नहुने आफूलाई पनि चेत भएको बताए। श्रेष्ठ गत स्थानीय निर्वाचनमा चापाकोटको मेयरमा पराजित भएका थिए। तत्कालीन एमालेबाट मेयरमा भिडेका श्रेष्ठ कांग्रेसका शिव गिरीसँग पराजित भएका थिए।
नगरपालिकामा संक्रमण बढेपछि सरकारी कार्यालयका प्रशासनिक कार्य बन्द गरिएको छ।