नारायण रिजाल
बागलुङ- विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संकटका बीच पनि बागलुङ जिल्लामा संस्थागत सुत्केरी सेवा लिनेको दर बढ्दै गएको छ। कोरोनाको प्रभावका कारण स्वास्थ्य संस्थामा गएर सेवा लिन कठिनाइ परेको बेला जिल्लामा भने संस्थागत सुत्केरी सेवा लिनेको दर बढ्दै गएको हो।
स्वास्थ्य कार्यालय बागलुङले आयोजना गरेको जिल्ला स्तरीय एकीकृत वार्षिक प्रगति समीक्षा कार्यक्रममा समग्र स्वास्थ्यका सूचकमध्ये आमा सुरक्षा कार्यक्रममा उल्लेखनीय प्रगति देखिएको थियो।
जिल्लाका दस वटै स्थानीय तहको तथ्याङ्क हेर्दा गत वर्षको तुलनामा १ प्रतिशतले वृद्धि भएको छ।
‘संख्याका आधारमा त धेरै छ, प्रतिशतमा हेर्दा पनि यो उल्लेखनीय प्रगति नै मानिन्छ,’ स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने, ‘आव ०७५/०७६ मा जिल्लाको समग्र संस्थागत सुत्केरी दर ४३ प्रतिशत थियो, कोरोना कहरका बीच पनि अघिल्लो वर्षभन्दा १ प्रतिशतले वृद्धि भएको छ।’
संस्थागत सुत्केरी सेवा लिनेको दर सबैभन्दा बढी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ८७ प्रतिशत रहेको गुरौले जानकारी दिए।
कोरोनाका कारण स्वास्थ्य संस्थामा गर्भ जाँच गर्नेको संख्या भने घटेको छ। गत आवको चैतदेखि नै कोरोनाको त्रास बढेको हुँदा गर्भजाँचका लागि स्वास्थ्य संस्थामा जानेको दर भने घटेको हो। आव ०७५/०७६ मा ४६ प्रतिशत रहेको स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गर्नेको संख्या गत आवमा भने ४२ प्रतिशतमा झरेको स्वास्थ्य कार्यालयले जनाएको छ।
जिल्लामा धौलागिरि अस्पताल सहित अन्य ं४७ वटा बर्थिङ सेन्टरबाट सुरक्षित प्रसूति सेवा प्रदान गर्दै आइएको छ भने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट शल्यक्रिया सेवा पनि प्रदान गरिँदै आएको छ। विगत ५ वर्षदेखि सञ्चालनमा आएको उक्त सेवाले पश्चिमका महिलालाई सहज भएको छ।
सामान्य अवस्थामा स्वास्थ्य संस्थामा नै सुरक्षित प्रसूति सेवा लिँदै आए पनि जटिल अवस्थामा भने जोखिम मोल्नुपर्ने बाध्यता थियो । यहाँ सिइओएनसी सेवा सञ्चालन भएसँगै यस क्षेत्रका महिलाका लागि सहज भएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा मिलन मल्ल ठकुरीले बताए।
सेवा प्रदान भएसँगै असोज महिनामा मात्र ६ जना महिलाको शल्यक्रियामार्फत सफल सुत्केरी सेवा प्रदान गरिएको छ। उक्त सेवाका लागि १ जना तालिम प्राप्त विशेषज्ञ डा अनिल केसी नै रहेका छन्। डाक्टरको अभाव हुँदा गर्भवती र सुत्केरीलाई रिफर गर्नुपर्ने बाध्यता रहेको बुर्तिवाङमा अहिले नियमित सेवा प्रदान गर्दै आइएको छ।
हरेक स्थानीय तहले आमा सुरक्षा कार्यक्रमका लागि विशेष प्राथमिकता दिएको हुँदा संस्थागत सुत्केरी हुनेको दर बढेको स्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी घनश्याम सापकोटाले जानकारी दिए।
गर्भवती भएदेखि चार पटक गर्भजाँच, आइरन र क्याल्सियम चक्की निःशुल्क वितरण, निःशुल्क परामर्श सेवा, पोषणको बारेमा जानकारी दिने लगायतका सेवा स्वास्थ्य प्रत्येक स्वास्थ्य संस्थाहरुबाट उपलब्ध रहेको छ।
त्यसैगरी जिल्लामा परिवार नियोजनका अस्थायी साधनको प्रयोगकर्ता पनि अघिल्लो वर्षको तुलनामा बढेका छन्। कोरोना संकटले गर्दा परिवार नियोजन कार्यक्रममा कुनै प्रभाव परेको छैन भने खोप, पोषण लगायतका कार्यक्रममा भने उल्लेखनीय प्रगति हुन नसकेको सूचना अधिकारी सापकोटाले बताए।