काठमाडौं– कोरोना संक्रमितको परीक्षण तथा उपचारमा केन्द्र सरकार पन्छिएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला लुम्बिनी प्रदेशले भने निःशुल्क उपचारको व्यवस्था यथावत रहेको जनाएको छ।
मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत् लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशल्क उपचारको व्यवस्था यथावत रहेको जनाएका हुन्।
आइतबार स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमले कोरोना संक्रमितको उपचारबाट सरकार पछि हटेको बताएका थिए।
उनले आर्थिक रुपले विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपांगता भएका नागरिक, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाइ कर्मचारीहरु, सुरक्षाकर्मीहरुलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीबाहेक अन्य सबै किसिमका व्यक्तिको कोरोना परीक्षण र उपचार व्यक्तिको आफ्नै खर्चमा गर्नुपर्ने निर्णय भएको बताएका थिए।