धरान- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितले उपचार गराउनका लागि धरौटी राख्नैपर्ने भएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले ६० हजारसम्म अग्रीम रूपमा धरौटी राख्नै पर्ने जानकारी गराएको हो।
गम्भीर अवस्थाका लक्षण भएका संक्रमितले ६० हजार रुपैयाँ धरौटी राख्नुपर्ने प्रतिष्ठानको सूचनामा उल्लेख छ। यसका साथै मध्यम लक्षण भएका संक्रमितको उपचार गराउनका लागि ३५ हजार रुपैयाँ अग्रीम रूपमा धरौटी राख्नैपर्ने भएको छ।
कुनै लक्षण नभएका संक्रमित भर्ना गर्नु पर्ने अवस्थामा पनि ७ हजार धरौटी राख्नैपर्ने प्रतिष्ठानले जनाएको छ।
यसका साथै गम्भीर प्रकृतिका लक्षण भएका बिरामीको प्रतिदिन बेड शुल्क १५ हजार निर्धारण गरिएको छ। कुनै पनि लक्षण नभएका संक्रमितले पनि दैनिक २ हजार रुपैयाँ भने बुझाउनै पर्ने अस्पतालको सूचनामा उल्लेख छ।
यसका साथै सरकारले कोरोनाको पिसिआर परीक्षण गराउन २ हजार रुपैयाँ तोकेको भएपनि प्रतिष्ठानले थप २ सय पनि असुल्ने निर्णय सार्वजनिक गरेको छ।
प्रतिष्ठानको यस्तो निर्णयप्रति सरोकारवाहरूको भने विरोध हुँदै आएको छ।
