काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुमा हाई डिपेन्डेसी युनिट सञ्चालन गर्न सवा ४ अर्बभन्दा बढी बजेट पठाएको जानकारी दिएको छ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबार मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा विभिन्न अस्पतालमा हाई डिपेन्डेन्सी युनिट संचालन गर्न ४ अर्ब २५ करोड २७ लाख २० हजार रुपैयाँ पठाएको जानकारी दिएको हो।
मन्त्रालयले ६ हजार बेडको हाई डिपेन्डेसी युनिट सञ्चालन गर्न सो रकम विनियोजन गरी पठाएको बताएको छ।
प्रदेश १ को धरान स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल र मेची अस्पताल, प्रदेश २ को वीरगञ्जस्थित नारायणी अस्पताल, जनकपुर अस्पताल र सगरमाथा अस्पताल, बागमती प्रदेशको भरतपुर अस्पताल, हेटौँडा अस्पताल र धुलिखेल अस्पताललाई २५/२५ बेडको हाई डिपेन्डेसी युनिट सञ्चालनका लागि बजेट पठाइएको छ।
यस्तै, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बागलुङ अस्पताल र गोरखा अस्पताल, लुम्बिनी प्रदेशको लुम्बिनी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल, कर्णाली प्रदेशको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत अस्पताल र जाजरकोट, सुदूरपश्चिम प्रदेशको सेती अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा पनि २५/२५ बेडको हाई डिपेन्डेसी युनिट सञ्चालनका लागि बजेट पठाइएको प्रवक्ता गौतमले जानकारी दिए।
काठमाडौंको त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालमा सय-सय बेडको हाइ डिपेन्डेसी युनिट सञ्चालनमा ल्याइने प्रवक्ता गौतमको भनाइ छ।
परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल, प्रहरी अस्पताल, र्कीतिपुर आयुर्वेद अस्पताल, दहचोक अस्पताल, सिभिल अस्पताल, नेपाल आर्मी अस्पताल, एपिएफ अस्पतालमा २५-२५ बेडको हाई डिपेन्डेसी युनिट संचालन हुने मन्त्रालयले जनाएको छ।
यस्तै, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, किस्ट मेडिकल कलेज, कान्ति बाल अस्पताल, नरदेवी अस्पताल, मानसिक अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र, शहिद गंगालाल ह्रदय केन्द्र, चापागाउँ अस्पताल, भक्तपुर म्युनिसिफल अस्पताल, भक्तपुर अस्पताल, सुमेरु अस्पताल, नेपाल कोरिया अस्पताल, मेडिसिटी अस्पताल, ह्याम्स अस्पताल, ग्राण्डी अस्पताल र अल्का अस्पतालमा २५-२५ बेडको हाई डिपेन्डेसी युनिटको व्यवस्था गरेको मन्त्रालयले जनाएको छ।
यी युनिटहरु छिटो सञ्चालनका लागि द्रुत गतिमा काम गर्न मन्त्रालयले सबै अस्पताललाई निर्देशनसमेत दिएको उनले जानकारी दिए।