काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको संक्रमणको वेग थामिन केही समय लाग्ने बताएका छन्।
संक्रमण रोक्न, नियन्त्रण गर्न र संक्रमितको उपचारमा सरकारले सम्पूर्ण प्रयास केन्द्रित गरेको प्रधानमन्त्री ओलीले देशवासीका नाममा गरेको सम्बोधनमा बताए। सरकारले उपचारको दायित्व पुरा गर्न कुनै पनि बहानामा पछि नहट्ने बताए। महामारीविरुद्धको खोपको सहज पहुँचका लागि सरकार क्रियाशील रहने बताए।
लकडाउन गरेदेखि जनतालाई भयभित बनाउने अफवाह छरिएको उनले बताए। उनले भने,‘सक्रिय संक्रमितको एउटा मात्रै केस हुँदा होस् वा अहिले एकैदिनमा ५ हजारभन्दा बढी सक्रिय केस पहिचान भएको क्षणमा होस्, अफवाहको प्रकृति करिबकरिब उस्तै रहेको देखिन्छ।’ संक्रमितको मृत्युदर ०.६ प्रतिशतभन्दा माथि जान नसकेको प्रधानमन्त्री ओलीले बताए। संक्रमितको निको हुने क्रम बढेको प्रधानमन्त्रीको दाबी थियो।