द न्यूयोर्क टाइम्स- कोरोना महामारीका कारण अधिकांशमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको छ। बालबालिकासँगै अभिभावकको मानसिक स्वास्थ्यमा पनि कोरोनाले प्रभाव पारेको एक अध्ययनले देखाएको छ।
अमेरिकन साइकोलोजिकल एसोसिएनसको एक अध्ययनले सन्तान नभएका अभिभावकभन्दा सन्तान भएका अभिभावकमा मानसिक समस्या बढ्दै गएको देखाएको हो।
महामारीपछि अभिभावकमा डिप्रेसन र चिन्ताको स्तर ह्वात्तै बढेको पनि अध्ययनमा उल्लेख छ। विशेषगरी १८ वर्ष मुनिका सन्तानसँग रहने अभिभावकमा मानसिक तनाव बढी हुने गरेको छ।
द युनिभर्सिटी अफ ओरेगनको र्यापिड इसीको एक सर्वेक्षणले पाँच वर्ष मुनिका बालबालिकाका अभिभावक बढी तनावमा रहने गरेको देखाएको छ।
६३ प्रतिशत अभिभावकले महामारीका बेला भावनात्मक समर्थन गुमाएको बताएका छन्। हार्वर्डको ग्र्याजुएट स्कुल अफ एजुकेसनका अनुसार ६१ प्रतिशत अभिभावकले महामारीमा आत्तिने गरेको र चिन्तित भएको स्वीकारेका छन्। उनीहरु ५, ६ र ७ वर्षका बालबालिकाका अभिभावक थिए।
साना बालबालिका भएका अभिभावकको तनाव झनै बढ्दै गएको पाइएको छ। अध्ययनका अनुसार विशषेगरी दुई किसिमका अभिभावकमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दो छ। गर्भवती अनि भर्खरै शिशु जन्माएका महिला र बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्न संघर्ष गरिरहेका अभिभावकमा जोखिम बढी रहेको अध्ययनले देखाएको छ।
महामारीपूर्व चिन्ता र डिप्रेसनबाट प्रभावित हुने गर्भवती र सुत्केरी महिलाको संख्या १० देखि २५ प्रतिशत थियो। क्यानडामा भएको एक अध्ययनले यो संख्यामा ह्वात्तै वृद्धि भएको देखाएको छ।
करिब २ हजार महिलामा गरिएको अध्ययनमा ३७ प्रतिशत गर्भवती महिला चिकित्सकीय रुपमा डिप्रेसन र ५७ प्रतिशतमा चिन्ता रहेको पाइएको छ। अर्को एक अध्ययनमा पनि गर्भवती र सुत्केरी महिलामा डिप्रेसन र चिन्तामा वृद्धि भएको पाइएको छ।
उक्त अध्ययनमा ९ सय गर्भवती र सुत्केरी महिला सहभागी थिए। महामारीका क्रममा उनीहरुमा डिप्रेसनको स्तर १५ प्रतिशतबाट ४० प्रतिशतमा पुगेको छ। उनीहरुमा चिन्ताको स्तर पनि २९ बाट ७२ प्रतिशतमा पुगेको अध्ययनमा उल्लेख छ।
मानसिक तनाव कम गर्न विभिन्न व्यायाम गर्न पनि सुझाव दिइएको छ। जस्तैः योगाको भिडियोले पनि तनाव कम गर्न सहयोग पुग्ने अध्ययनले देखाएको छ।