काठमाडौं- देशभर कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्तुत गरेको छ। देशभरको कुल संक्रमितमध्ये ४३ प्रतिशतभन्दा धेरै कोरोना संक्रमित काठमाडौं उपत्यकामा मात्र भेटिएको मन्त्रालयको तथ्यांकले देखाएको छ।
मन्त्रालयले बिहीबार अपडेट गरेको विवरण अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ७३ हजार १ सय ३ जना संक्रमित रहेका छन्। यो तथ्यांक अनुसार देशका कुल संक्रमितको ४३ दशमलव ३ प्रतिशतभन्दा बढी हो।
हालसम्म काठमाडौं जिल्लामा मात्र ५९ हजार २ सय ४३ जना संक्रमित भेटिएका छन् भने ललितपुरमा ८ हजार ३ सय ५० जना संक्रमित पुष्टि भएका छन्। यस्तै भक्तपुरमा ५ हजार ५ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
हालसम्म देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ९ सय ४ रहेको छ भने काठमाडौंमा उपत्यकामा मृत्यु हुने संक्रमितको संख्या ३ सय २८ छ।
मृत्यु हुने कोरोना संक्रमितमध्ये काठमाडौंमा २ सय ९, ललितपुरमा ५८ र भक्तपुरमा ६१ रहेको मन्त्रालयको तथ्यांमा उल्लेख छ।
यसैगरी हाल काठमाडौंमा १० हजार ५ सय १, भक्तपुरमा १ हजार ७ सय १९ र ललितपुरमा २ हजार ३ सय ६३ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन्।
नेपालमा हालसम्म १४ लाख १९ हजार ६४ जनाको पिसिआर परीक्षण गरिएको छ। नेपालमा भेटिएका कोरोना संक्रमितमध्ये १ लाख २४ हजार ८६२ जना भने निको भएका छन्।