काठमाडौं– युरोपलगायतका विश्वका विभिन्न स्थानमा सुरु भएको कोरोना संक्रमणको दोस्रो लहरबाट नेपालीहरु पनि प्रभावित भएका छन्। यो साता थप एक हजार नेपाली कोरोना संक्रमित भएका छन्।
गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९ सय ६३ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितध्ये ४ सय ५० जना रोमानियामा रहेका नेपालीहरु छन्।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन्।
४२ देशमा रहेका नेपालीमध्ये ४३ हजार ५ सय ६९ जना कोरोना भाइरसको संक्रमणमा परेका छन्। तीमध्ये ३९ हजार ५ सय ६५ जना अर्थात् ९२ प्रतिशत कोरोनामुक्त भएको स्वास्थ्य समितिले जनाएको छ । गत सातासम्म १९ देशका २ सय ८४ नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको गैरआवासीय नेपाली संघले जनाएको छ ।