काठमाडौं- काठमाडौं महानगरपालिकाले कान्तिबाल अस्पताललाई पिसिआर मेसिन उपलब्ध गराएको छ।
महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सोमबार अस्पतालका निर्देशक डा कृष्ण पौडेललाई उक्त मेसिन हस्तान्तरण गरेका छन्।
उक्त पिसिआर मेसिन उपलब्ध भएसँगै अब कान्ति बाल अस्पतालमै कोरोनाको परीक्षण हुने भएको छ। यद्यपि उक्त मेसिन सञ्चालनमा आउन करिब १० दिन लाग्ने अस्पतालका निर्देशक डा पौडेलले जानकारी दिए। यसअघि अस्पतालले पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउँदै आएको थियो।
डा पौडेलले भने, ‘अहिले टेकुमा परीक्षण गर्दै आएका छौँ। अब पिसिआर मेसिन उपलब्ध भएकाले अस्पतालमै परीक्षण हुन्छ। मेसिन सञ्चालन गर्न केही समय लाग्छ।’
पिसिआर मेसिन उपलब्ध भएसँगै कोरोनाको उपचार गर्न सहज हुने उनले बताए। रिपोर्ट आउन ढिला हुने भएकाले पनि उपचार गर्न केही समस्या हुने गरेको उनको भनाइ छ।
उनले भने, ‘अहिले रिपोर्ट कुर्नु पर्दा ढिला हुन्छ। तर अस्पतालमै पिसिआर हुने भएपछि रिपोर्ट छिटो आउँछ अनि उपचार गर्न पनि सहज हुन्छ।’
हालसम्म कान्ति बाल अस्पतालमा ३२ जना संक्रमित बालबालिका उपचारका लागि भर्ना भएका छन्। जसमध्ये २ जनाको मृत्यु भएको छ। हाल अस्पतालमा १ जना संक्रमितको उपचार भइरहेको र १२ जना शंकास्पद रहेको निर्देशक पौडेलले जानकारी दिए।