काठमाडौं- अमेरिका नेपाल मेडिकल फाउण्डेशनले काठमाडौं उपत्यकाका आठ वटा अस्पतालहरुलाई तीन हजार एन ९५ थ्रि एम मास्क वितरण गरेको छ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम दैनिक बढीरहेको भन्दै फाउण्डेशनले स्वास्थ्यकर्मीका लागि आठ वटा अस्पतालमा गरी तीन हजार मास्क वितरण गरेको हो।
हालसम्म त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पताललाई मास्क वितरण गरिएको फाउण्डेशन नेपालका अध्यक्ष डा भूपेन्द्र बस्नेतले जानकारी दिए।
सिभिल र थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताललाई भने मंगलबार मास्क वितरण गरिने उनले बताए।
बजारमा उपलब्ध मास्क कम गुणस्तरको भएको भन्दै सिंगापुरबाट खरिद गरेर अस्पताललाई मास्क वितरण गरिएको उनले बताए। स्वास्थ्यकर्मीलाई कोरोनाको जोखिम बढी हुने भएकाले उनीहरुको सुरक्षा आफुहरुको प्राथमिकता रहेको उनको भनाई छ।
स्वास्थ्यकर्मीको सुरक्षाका लागि पिपिई निर्माण गर्न फाउण्डेशनले राष्ट्रिय आविष्कार केन्द्रसँग समेत सहकार्य गरिरहेको छ।