काठमाडौं- काठमाडौं महानगरपालिका वडाहरुले कोभिडसँग सम्बन्धित सिफारिस दिँदासमेत सेवाग्राहीसँग वडाहरूले शुल्क लिएका हुन्। महानगरमा गुनासाे पुगेपछि लिने गरेको शुल्कमा रोक लगाइएको छ।
कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेकाहरूले 'होम आइसोलेसनमा बसेको हो' भन्ने सिफारिस दिँदा अधिकांश वडाले निशुल्क दिए पनि केही वडाले सिफारिस दस्तुर लिएका थिए। यसअघि महानगरले तोकेको सिफारिस दस्तुरको सूचीमा कोभिड नभए पनि ‘अन्य सिफारिस’ शीर्षकमा दस्तुर लिने गरेको थियो।
महानगरको वडा नम्बर ३२ ले सिफारिस दस्तुर बापत ५१० लिएका थिए। त्यसपछि केही सेवाग्राहीले यसको विरोध गर्दै आएका थिए। सेवाग्राहीहरूको गुनासो र विभिन्न क्षेत्रबाट पनि आलोचना भएपछि महानगरले आज सूचना नै निकालेर कुनै पनि दस्तुर नलिन भनेको हो।
‘वडा कार्यालयहरूबाट प्रदान गरिने कोभिडसँग सम्बन्धित सिफारिसको लागि लिने गरेको दस्तुर नलिनेसम्बन्धी निर्णय महानगर प्रमुखबाट भएको र सो निर्णय कार्यपालिकाको बैठकबाट अनुमोदन गराउने गरी हाललाई कोभिड- १९ सँग सम्बन्धित सबै सिफारिस निःशुल्क गर्ने निर्णय भएकाले सोहीअनुसार गर्न अनुरोध गरिन्छ’, मंगलबार वेबसाइटमा राखिएको सूचनामा भनिएको छ।
कार्यालयमा बिदा स्वीकृत गराउन तथा कोरोना बीमा प्रयोजनलगायतका लागि होम आइसोलेसनमा बस्नेहरूले वडाको सिफारिस बुझाउनुपर्ने भएकाले वडाबाट सिफारिस लिँदै आएका थिए।