नेपालगञ्ज- बाँकेका दुई ठूला अस्पतालमा उपचाररत ३० जना कोरोना संक्रमित सिकिस्त अवस्थामा पुगेका छन्। भेरी अस्पताल, नेपालगञ्ज र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत १०१ जना कोरोना सङ्क्रमितमध्ये ३० जना सिकिस्त रहेको स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार, भेरी अस्पतालमा १८ र शिक्षण अस्पताल कोहलपुरमा १२ गरी ३० बिरामी सिकिस्त छन्। भेरीमा ३६ र कोहलपुरमा १४ गरी मध्यम खालका बिरामी ५० जना छन्।
भेरीमा ९ र कोहलपुरमा १२ गरी अस्पतालमा २१ सामान्य बिरामी उपचाररत छन्। बाँके र बाहिरी जिल्लाबाट उपचारका लागि अस्पतालमा भर्ना भएका सङ्क्रमितको दैनिकजसो मृत्यु भइरहेको छ। लक्षण देखिएका बिरामीलाई सामान्य, मध्यम र सिकिस्त तीन चरणमा विभाजन गरेर उपचार दिने गरिएको स्रोत व्यक्ति श्रेष्ठको भनाइ छ। कोरोना सङ्क्रमित सिकिस्त बिरामी जोखिममा रहने गर्छन्।
बाँकेका विभिन्न स्थानीय तहमा १९१ कोरोना सङ्क्रमित छन्। उनीहरु होम आइसोलेसनमा बसेका छन्। नेपालगञ्ज उपमहानगरपालिकामा ९३, कोहलपुर नगरपालिकामा ४१, खजुरा गाउँपालिकामा १०, बैजनाथ गाउँपालिकामा १४, जानकी गाउँपालिकामा १७ र राप्ती सोनारी गाउँपालिकामा ६ जना होम आइसोलेसनमा रहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए।
बाँकेमा हालसम्म १३ महिला र २१ पुरुष गरी ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार २८७ पुगेको छ भने दुई हजार ९७३ जना निको भई घर फर्किएका छन्। -रासस