काठमाडौं- कोरोना संक्रमितको संख्या बढ्दै गएकाले प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने क्रम पनि बढ्दै गएको छ। प्लाज्मा थेरापी विधिबाट उपचार गर्नका लागि कोरोना संक्रमणमुक्त भएका बिरामीले रक्तदान गर्नुपर्ने हुन्छ।
प्लाज्मा विधिबाट उपचार लिन चाहनेको संख्या बढ्दै गएपछि प्लाज्माको माग बढिरहेकै छ। प्लाज्मा लिन चाहनेहरूलाई चाँडै प्लाज्मा उपलब्ध गराउन सकियोस् र दाताहरूको पनि अभाव नहोस् भन्ने उद्देश्यले प्लाज्मा एप सुरु गरिएको हो। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको अगुवाइमा प्लाज्मा एपले मूर्त रूप पाएको हो।
नेता पौडेललाई प्लाज्माको माग बढिरहेको तर तत्कालै मागअनुसार प्लाज्मा उपलब्ध हुन नसकेको विषयले गम्भीर बनायो। प्लाज्मा सहयोगको आग्रह सहित दिनहुँ दर्जनौँ पोस्ट उनले सामाजिक सञ्जालमा देखिरहेका थिए। ‘प्लाज्माको आवश्यकता भएको धेरै स्टाटस सामाजिक सञ्जालमा देखें। कतिपयले प्लाज्मा नपाएर समस्यामा परेको पनि जानकारी पाएँ,' नेता पौडेलले भने, ‘संक्रमित भइसकेपछि मनोविज्ञान पनि कमजोर देखिने रहेछ। हत्तपत्त प्लाज्मा दान गर्न नचाहने पनि हुने रहेछन्। स्वास्थ्यलाई हानी गर्दैन। प्लाज्मा दान गर्न हुन्छ भन्ने पनि कतिपयलाई थाहा नहुने रहेछ।’
चेतना जगाउन र बिरामीलाई निको पार्न सहयोग पुग्ने उद्देश्यले पौडेलले प्लाज्मा एपको परिकल्पना गरे। प्रविधिको प्रयोगमार्फत प्लाज्मा दान गर्ने र प्राप्त गर्नेलाई जोड्न सकिए कोरोना संक्रमितको उपचारमा धेरै राहत पुग्ने पौडेललाई लाग्यो। आफू निकटका साथीहरुसँग उनले पौडेलले सल्लाह गरे। एप विकासका लागि उनले तयारी सुरु गरिहाले। पौडेलको कार्यलाई शशांकश्री न्यौपाने, मेली शाह र लविश हमालले सघाए। प्लाज्मा आवश्यक पर्ने र निको भएर प्लाज्मा दान गर्न इच्छुक दुवैलाई जोड्न उनले ‘प्लाज्मा’ एपको विकास गरी प्रयोगमा ल्याए। ‘एपको प्रयोगले आवातजावत कम गरेर नै बिरामीले प्लाज्मा पाउन सकिने अवस्था बनेको छ,’ नेता पौडेलले भने।
पौडेलले सञ्चालन गरेको एपमार्फत प्लाज्मा दान गर्न इच्छुक ‘पब्लिक ट्रस्ट’ भएको व्यक्तिको खोजीमा उनी थिए। त्यसका लागि कांग्रेस नेता गगन थापा नै उनका लागि ‘पब्लिक ट्रस्ट’का व्यक्ति भए। कोरोना संक्रमणमुक्त भएका थापा र उनकी पत्नी अन्जना केसी थापाले प्लाज्मा दान गर्ने सार्वजनिक घोषणा गरे। थापा दम्पतिले एपमा प्लाज्मा दान गर्नेको सूचीमा नाम समावेश गरिसकेका छन्। प्लाज्मा दान गर्ने घोषणा गरेका नेता थापाले भने, ‘कोरोना संक्रमित कैयनको उपचारमा प्लाज्मा थेरापी प्रभावकारी देखिएको छ।’ थापा दम्पतिको घोषणाले संक्रमणमुक्त भएकाले प्लाज्मा दान गर्नेका लागि प्रेरित गरेको पौडेलले बताए।
एन्ड्रोइडमा उपलब्ध हुने गरी प्लाज्मा एप सञ्चालनमा ल्याइएको छ। गत सोमबारबाट प्रयोगमा आएको एपमा डेढ सय बढीले प्लाज्मा दान गर्न इच्छुक रहेको जनाएका छन्। शुक्रबार बिहानसम्म ६५० बढीले एप डाउडलोड गरेको पौडेलले जानकारी दिए। प्लाज्मा आवश्यक पर्ने र प्रदान गर्नेहरू एपका माध्यमबाट जोडिने क्रम बढेको उनले बताए। पौडेलले भने, ‘प्लाज्मा आवश्यक पर्नेभन्दा बढी दान गर्न इच्छुक सुचीकृत भएका छन्।’
प्लाज्मा दान गर्ने र आवश्यक पर्ने दुवै पक्षले सम्पर्क नम्बर, रक्त समूहसहित पूर्ण विवरण एपमा भर्नुपर्ने हुन्छ। प्लाज्मा दान गर्ने र आवश्यक पर्ने दुवैको स्थान निकट भएको अवस्थामा उनीहरूलाई पायकपर्ने स्थानमा भेट गराइदिने कामसमेत एपमार्फत भएको छ।
कांग्रेसका नेता तथा कार्यकर्तामा धेरै जना संक्रमित भएर निको भएका छन्। पार्टीभित्र पनि पौडेलले प्लाज्मा दान गर्न नेता कार्यकर्तालाई प्रेरित गरेका छन्।
के हो प्लाज्मा थेरापी?
कुनै मानिस कोरोना भाइरस संक्रमणमुक्त भएको छ भने उसमा रोग प्रतिरोधी एन्टिबडी विकास भएको हुन्छ। त्यसैमार्फत् नयाँ बिरामीको उपचार गर्ने गरिन्छ। एन्टिबडीको सहयोगले कोरोना संक्रमित बिरामीको रगतमा मिसाएर उपचार गरिन्छ। चिकित्सकहरु प्लाज्मा थेरापीलाई प्रभावकारी उपचार पद्धति भएको बताउँछन्।
कुनै बिरामीको शरीरमा भएको एन्टिबडी ऊ ठिक भएको १४ दिनभित्र झिक्न सकिने चिकित्सकहरू बताउँछन्। कोरोना संक्रमणमुक्त भएका सबैको प्लाज्माबाट सबै कोरोना संक्रमितको उपचार गर्न सकिन्छ भन्ने हुँदैन। प्लाज्मा लिनेदिने दुवैको रगतको समूह पनि मिल्नुपर्छ।
गत साउन १८ मा नेपालमा पहिलोपटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सफल भएको थियो। विराट नर्सिङ होमका वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा ज्ञानेन्द्रमान कार्कीको उपचार प्लाज्मा थेरापीका माध्यमबाट सफल भएको थियो। त्रिवि शिक्षण अस्पतालमा कार्कीको उपचार प्लाज्मा थेरापीबाट सफल भएपछि कोरोना संक्रमणबाट निको भएकाबाट प्लाज्मा खोज्नेको संख्या बढ्दै गएको छ।