काठमाडौं- कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले पर्यटन क्षेत्र खुला गर्न सरकारलाई सिफारिस गरेको छ। आइतबार बसेको सिसिएमसीको बैठकले पर्यटकीय गतिविधि खुला गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
पर्यटन क्षेत्रका गतिविधि खुलाउनेबारे मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय भएको गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए। उनले भने, ‘साहसिक पर्यटन, जंगल सफारीलगायतका सेवाहरु खुला गर्नुपर्ने छलफल भएको छ। मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्ने भएकाले पर्यटन मन्त्रालयले प्रस्ताव लानेछ।’
आइतबार बसेको सिसिएमसी बैठकले विदेशमा संकटमा परेका नेपालीलाई उद्धार उडान गर्नु नपर्ने ठहर गरेको छ। उनले भने, ‘उद्धार उडान अब आवश्यक नपर्ने देखियो।’
केही दिनको अवस्था हेरेर विद्यालय सञ्चालनको सिफारिस गर्ने उनले बताए। दसैंमा फर्केनहरुबाट संक्रमणको जोखिम नहटेकाले केही दिनको ‘ट्रेन्ड’ हेरेर अन्य क्षेत्रको खुला गर्ने/नगर्ने निर्णय गरिने गुरागाईंले बताए।
बन्द रहेका विद्यालय, सिनेमा हलका विषयमा छलफल भएपनि निर्णयका लागि केही समयको संक्रमणको दरका आधारमा सिफारिस गर्ने उनले बताए।