काठमाडौं– सरकारले कोरोना संक्रमितको उपचार सःशुल्क गरेपछि हालसम्म ४११ जना संक्रमितको मृत्यु भएको छ। यो कात्तिक १ देखि २४ गतेसम्मको तथ्यांक हो।
यो अवधिमा गत असोजको भन्दा ७५ जना थप संक्रमितको मृत्यु भएको छ। गत असोजमा ३३६ कोरोना संक्रमितको मृत्यु भएको थियो।
सरकारले कात्तिक २ गतेबाट लागू हुने गरी कोरोना संक्रमितले उपचार गर्दा अस्पतालमा शुल्क तिर्नुपर्ने निर्णय गरेको थियो।
पछिल्लो समयमा अस्पताल जाँदा उपचारका लागि धरौटी रकम तिर्नुपर्ने भएपछि लक्षण भएका बिरामीसमेत होम आइसोलेसनमा बस्ने गरेका छन्।
चिकित्सकका अनुसार कतिपय संक्रमितका सुरुवाती दिनमा लक्षण नदेखिए पनि ५ देखि १० दिनको बीचमा निमोनियाको लक्षण देखिन सक्छ भने कतिपयमा अक्सिजनको मात्रा एक्कासी घट्ने हुन्छ। तर संक्रमितहरु स्वास्थ्य समस्या आउँदा समेत अस्पतालमा गएका छैनन्। यसले थप जटिलता निम्त्याएको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाले अस्पतालमा आउने धेरैजसो बिरामी होम आइसोलेसनमा बसेकाहरु भएको बताए।
उनले भने, ‘त्यसमा पनि निमोनिया लिएर आउन थालेका छन्। यतिसम्म कि घरमा बसेका संक्रमितमा अक्सिजनको कमी हुँदा घरमै अक्सिजन सिलिन्डर लिएर समेत जाने गरेका छन्। विशेषगरी वृद्धवृद्धाका लागि यो बढी देखिएको छ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमले कोरोना संक्रमितको उपचार खर्च बिरामीबाटै लिन सबै कोभिड अस्पताललाई निर्देशन दिने निर्णय भएको जानकारी दिएका थिए।
त्यसयता, कोभिड अस्पतालहरुले कोरोना संक्रमित भई अस्पताल भर्ना हुँदा ५० हजारसम्म धरौटी रकम र प्रतिदिन १५ हजारसम्म खर्च लाग्ने सूचना निकालेका थिए।
सरकारको यो निर्णयपछि धेरै संक्रमित होम आइसोलेसनमा बसेका छन्। उनीहरु स्वास्थ्य अवस्था गम्भीर हुँदा समेत अस्पताल नजाँदा होम आइसोलेसनमा गम्भीर भएको संक्रमितको मृत्यु समेत बढेको बताइएको छ।
गत असोजमा भन्दा कात्तिक २४ गतेसम्म मृत्यु हुने संक्रमितको संख्या पनि धेरै छ। तर यो समयमा कति होम आइसोलेसनमा बस्ने संक्रमितको मृत्यु भयो भन्ने तथ्यांक भने मन्त्रलयसँग छैन।
स्वास्थ्य मन्त्रालयले संक्रमितले होम आइसोलेसनमा बस्नुपर्ने निर्णय गरे पनि ती संक्रमितको स्वास्थ्य अवस्था र उनीहरुको नियमित निगरानी गर्ने गरेको छैन। जसका कारण होम आइसोलेसनमा बस्ने कति बिरामीलाई समस्या देखिएको छ, कति बिरामीको मृत्यु भयो भन्नेबारे मन्त्रालय बेखबर छ।
यसको पुष्टि मन्त्रालय र सेनासँग भएको कोरोना संक्रमितको मृत्युको फरकफरक तथ्यांकले समेत गरेको छ।
हालै मन्त्रालयले तथ्यांकमा विवाद आएपछि गठन गरेको समितिले बुझाएको प्रतिवेदनमा समेत मन्त्रालय होम आइसोलेसनमा बस्ने संक्रमितबारे बेखबर रहेको र सेनासँग तालमेल मिलाएर काम नगरेको औँल्याएको थियो।
कात्तिक महिनामा भएका कोरोना संक्रमित मृतकको संख्या
कात्तिक १– १२
कात्तिक २– १२
कात्तिक ३– १८
कात्तिक ४– ८
कात्तिक ५– २६
कात्तिक ६– २१
कात्तिक ७– १७
कात्तिक ८– १३
कात्तिक ९– ५
कात्तिक १०– १५
कात्तिक ११– १४
कात्तिक १२– ११
कात्तिक १३– १७
कात्तिक १४– १६
कात्तिक १५– १७
कात्तिक १६– २३
कात्तिक १७ – २४
कात्तिक १८ – २०
कात्तिक १९ – ३०
कात्तिक २० – १८
कात्तिक २१ – १८
कात्तिक २२ – १७
कात्तिक २३ – २१
कात्तिक २४ – १८
जम्मा – ४११