काठमाडौं- सरकारले मन्त्रिपरिषद्का सबै सदस्यहरूको ५० प्रतिशत तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मंसिरदेखि सबै मन्त्रीहरूको आधा तलव कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।
'आजको बैठकले मंसिरदेखि सबै मन्त्रीहरूको ५० प्रतिशत तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ,' ती मन्त्रीले भने।
यस्तै सरकारले कोरोना भाइरसविरुद्धको खोप पनि किन्ने निर्णय गरेको छ। ती मन्त्रीका अनुसार जुन देशको पहिला प्रयोगमा आउँछ त्यही खोप किन्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले कोरोनाविरूद्ध खोप तयार भएको अवस्थामा ती मुलुकका सरकारसँग जिटुजी प्रक्रियाबाट खोप किन्ने निर्णय गरेको हो।
'कोरोनाविरुद्धको खोप तयार भएको अवस्थामा जिटुजीबाट किन्ने निर्णय भएको छ,' बैठकमा सहभागी एक मन्त्रीले भने। यसको समन्वय भने परराष्ट्र मन्त्रालयले गर्ने बताइएको छ।
विश्वमा कोरोनाविरुद्धको खोपको तेस्रो चरणको परीक्षण भइरहेको छ। मानिसमा प्रयोग हुने गरी खोप विकास गरी प्रयोगमा ल्याउन अझै केही समय लाग्न सक्ने विश्व स्वास्थ्य संगठनले बताउँदै आएको छ।