काठमाडौं - जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीहरुको आन्दोलन लम्बिएको छ। व्यवस्थापन पक्षले माग सम्बोधनका लागि कुनै चाँसो नदिएपछि जानकी मेडिकल कलेजका कर्मचारीहरुको आन्दोलन लम्बिएको हो।
अस्पतालले नियमित तीन महिनादेखिको तलब, ६ वर्षको सञ्चय कोष, २०७५ सालको चैत र वैशाख महिनाको तलब नदिएको भन्दै उनीहरु गत असोज १२ देखि आन्दोलनमा छन्।
आन्दोलन स्वरुप उनीहरुले असोज १२ बाट धर्ना दिएका थिए। आन्दोलनकै क्रममा २ जना कर्मचारीलाई निलम्बन र ४ जनालाई स्पष्टिकरण सोधेपछि उनीहरुले आन्दोलनका स्वरुप परिवर्तन गरेका छन्।
अस्पतालले श्रम शोषण तथा ज्यादती गरेको भन्दै दुई जना कर्मचारी कार्तिक १६ गतेदेखि आमरण अनसनमा बसेको जानकी मेडिकल कलेज तथा कर्मचारी हकहित संरक्षण संघष समितिका संयोजक उमेश यादवले जानकारी दिए। अस्पतालका सुरक्षा इन्चार्ज जानकी शरण यादव र पारामेडिकल कुलदिप शाह १० दिनदेखि आमरण अनसनमा छन्।
यादवले भने, ‘हामी धर्ना बसिरहेकै बेला २ जनालाई निलम्बन र ४ जनालाई अस्पतालले स्पष्टिकरण सोध्यो। त्यही भएर हामी आमरण अनसनमा छौं।’
आफुहरुले पटक पटक भनेपनि व्यवस्थापन पक्षले माग सम्बोधनका लागि कुनै चाँसो नदिएको उनको गुनासो छ।
उनले भने, ‘हामीले पटक पटक व्यवस्थापन पक्षलाई आफ्ना माग बारे भनिरहेका छौं। आन्दोलनमा छौं। तर अहिलेसम्म कुनै चाँसो नै दिएको छैन।’
आन्दोलित कर्मचारीले असोज १२ गतेदेखि नै अस्पतालको इमरजेन्सी बाहेक अन्य सबै सेवा ठप्प पारेको छ। २०७५ को चैत १५ गतेसम्म सबै कर्मचारी, फ्याकल्टी तथा चिकित्सकहरुको लेखा शाखासँग व्यक्तिगत हरहिसाब पारदर्शी गर्ने र १६ गतेदेखि उनीहरुले हिसाब लिन पाउने अस्पतालले निर्णय गरेको थियो।
अस्पतालको व्यवस्थापन पक्षले आफुहरुसँग गरेका ती सहमतिहरु समेत कार्यान्वयन नगरेको उनीहरुको आरोप छ। हालसम्मको बाँकी बक्यौता तलब भत्ता एकमुष्ट रुपमा भुक्तानी गर्नुपर्ने लगायत उनीहरुको माग छन्।
इमरजेन्सी, आइसियु, ओटी, क्लिनीकल प्याथोलोजी ल्याब, एक्सरे लगायतको फ्रन्टलाइनमा काम गर्ने कर्मचारीहरुलाई पिपिई, केएन ९५, सेनिटाइजर उपलब्ध गराउन, सम्पूर्ण कर्मचारीको जीवन बिमा र जोखिम भत्ता उपलब्ध गराउनुपर्ने तथा पिसिआर परीक्षण गराउनुपर्ने लगायत माग उनीहरुको छ।