काठमाडौं– स्वास्थ्यकर्मीहरुले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा सहभागी हुन पाउनुपर्ने माग गरेका छन्।
उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै ट्रेड युनियनको निर्वाचनमा सहभागी हुन पाउनुपर्ने माग गरेका हुन्।
ट्रेड युनियनको निर्वाचन यही २७ गते हुँदैछ। तर निर्वाचनमा सहभागी भएर मतदान हुन पाउने अधिकार खोसिन लागेको भन्दै स्वास्थ्यकर्मीको विभिन्न ६ वटा संगठनले ज्ञापन पत्र बुझाएका हुन्। उनीहरुले उम्मेदवार र मतदाता हुने दुवै अधिकार खोसिन लागेको भन्दै आपत्ति जनाएका छन्।
ज्ञापनपत्रमा भनिएको छ, स्वास्थ्य सेवा ऐन अन्तर्गत कार्यरत हामी स्वास्थ्यकर्मीलाई निर्वाचनमा सहभागी भई उम्मेदवार र मतदाता हुन पाउने संवैधानिक र कानुनी अधिकार खोसिन लागेको छ।
ज्ञापनपत्र बुझाउनेमा नेपाल स्वास्थ्यकर्मी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, नेपाल स्वास्थ्यकर्मी युनियन, अखिल नेपाल स्वास्थ्यकर्मी युनियन, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन र मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल छन्।