काठमाडौं - चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले जानकी मेडिकल कलेज शिक्षण अस्पतालका अनसरत कर्मचारीको जीवन रक्षा गर्न माग गरेका छन्।
डा केसीले बुधबार विज्ञप्ति जारी गरी जानकी मेडिकल कलेजका अनसनरत दुई कर्मचारीको जीवन रक्षा गर्न माग गरेका हुन्। अस्पताल सुधार तथा श्रम शोषण विरुद्धका मागहरु राखी उनीहरु अनसनमा बसेको ११ औं दिन भइसक्दा पनि सम्बन्धित पक्षले बेवास्ता गरेको प्रति डा केसीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, 'उहाँहरुसँग विगतमा भएका सहमति पालना नगरिनु र अनसन बसेको ११ औँ दिन पुगिसक्दा समेत सम्बन्धित निकायबाट बेवास्ता गरिनु दुर्भाग्यपूर्ण छ। यो अवस्थामा उहाँहरुका माग यथाशीघ्र पूरा गरी जीवन रक्षा गर्न सम्बन्धित पक्षलाई आग्रह गर्दछौँ।'
अस्पतालले श्रम शोषण तथा ज्यादती गरेको भन्दै सुरक्षा इन्चार्ज जानकी शरण यादव र पारामेडिकल कुलदिप शाह कार्तिक १६ गतेदेखि दिनदेखि आमरण अनसनमा छन्।
किन आन्दोलनमा छन्, जानकी मेडिकल कलेजका कर्मचारीहरु?
नियमित तीन महिनादेखिको तलब, ६ वर्षको सञ्चय कोष, २०७५ सालको चैत र वैशाख महिनाको तलब नदिएको भन्दै जानकी मेडिकल कलेजका कर्मचारीहरु गत असोज १२ गतेदेखि आन्दोलनमा छन्। उनीहरुको आन्दोलनमा डा केसीले ऐक्यवद्धता समेत जनाएका छन्।
आन्दोलन स्वरुप उनीहरुले असोज १२ बाट धर्ना दिएका थिए। आन्दोलनकै क्रममा २ जना कर्मचारीलाई निलम्बन र ४ जनालाई स्पष्टिकरण सोधेपछि उनीहरुले आन्दोलनका स्वरुप परिवर्तन गरेका हुन्।
आफुहरुले पटक पटक भनेपनि व्यवस्थापन पक्षले माग सम्बोधनका लागि कुनै चाँसो नदिएको उनको गुनासो छ।
आन्दोलित कर्मचारीले असोज १२ गतेदेखि नै अस्पतालको इमरजेन्सी बाहेक अन्य सबै सेवा ठप्प पारेको छ। २०७५ को चैत १५ गतेसम्म सबै कर्मचारी, फ्याकल्टी तथा चिकित्सकहरुको लेखा शाखासँग व्यक्तिगत हरहिसाब पारदर्शी गर्ने र १६ गतेदेखि उनीहरुले हिसाब लिन पाउने अस्पतालले निर्णय गरेको थियो।
अस्पतालको व्यवस्थापन पक्षले आफुहरुसँग गरेका ती सहमतिहरु समेत कार्यान्वयन नगरेको उनीहरुको आरोप छ। हालसम्मको बाँकी बक्यौता तलब भत्ता एकमुष्ट रुपमा भुक्तानी गर्नुपर्ने लगायत उनीहरुको माग छन्।
इमरजेन्सी, आइसियु, ओटी, क्लिनीकल प्याथोलोजी ल्याब, एक्सरे लगायतको फ्रन्टलाइनमा काम गर्ने कर्मचारीहरुलाई पिपिई, केएन ९५, सेनिटाइजर उपलब्ध गराउन, सम्पूर्ण कर्मचारीको जीवन बिमा र जोखिम भत्ता उपलब्ध गराउनुपर्ने तथा पिसिआर परीक्षण गराउनुपर्ने लगायत माग उनीहरुको छ।