काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम र व्यवस्थापनका लागि स्थानीय तहलाई सहभागी गराउन हरेक स्थानीय तहमा ‘कोभिड सहजीकरण समूह’ गठन गर्ने तयारी गरेको छ।
स्वास्थ्य मन्त्रालयले कोरोन संक्रमण भई होम आइसोलेसनमा बसेका संक्रमितको निगरानी, अन्य आइसोलेसनमा बसेका व्यक्तिको व्यवस्थापन गर्न असहज भएपछि स्थानीय तहलाई सहभागी बनाई हरेक वडामा कोभिड सहजीकरण समूह गठन गर्ने नीति लिइएको हो।
स्वास्थ्य मन्त्रालयक प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा बनेको कार्यदलले पहिलो चरणमा काठमाडौं उपत्यका पालिकाहरुमा समूह बनाउने कार्य भइरहेको जानकारी दिए।
उनले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश नगरपालिका र गाउँपालिकाको बैठक गरी समूह गठनबारे छलफल गरिसकेको जानकारी दिए।
उनले काठमाडौं महानगरपालिकालाई पनि बैठकबारे जानकारी गराएको र छिट्टै बैठक बस्ने बताए।
उनले भने, ‘हरेक दिन कोरोना संक्रमितको सख्ंया बढिरहेको छ। होम आइसोलेसनमा बस्ने संक्रमितको स्वास्थ्य कस्तो भन्ने थाहा हुन सकेन। त्यसको निगरानी र व्यवस्थापनमा स्थानीय पालिकाको भूमिका महत्वपूर्ण हुने भएकाले यस्तो कार्य गर्न लागिएको हो।’
उनका अनुसार हरेक टोलमा कम्तीमा एउटा समूह गठन गरिने छ। एक समूहले बढीमा ५० घरको निगरानी गर्नुपर्ने छ। सोभन्दा बढी भएमा हरेक ५० घरका लागि अर्को समूह गठन गरिने छ।
समूह टोल विकास/सुधार समितिमार्फत परिचालन गरिने छ भने उक्त समिति नभएको अवस्थामा अन्य संगठित संस्थाहरु (क्लब, उपभोक्ता समितिहरु, गुठी)मार्फत परिचालन गरिने छ।
आवश्यताअनुसार महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक परिचालक शिक्षक, स्वास्थ्यकर्मी, स्थानीय क्लब, आमा समूह तथा गुठीका सदस्यहरु प्राथमिकताका आधारमा समावेश गर्नुपर्ने छ।
हरेक समूहमा कम्तीमा ५ जना स्थानीय सदस्य रहने छन्। आवश्यकता अनुसार समूहमा थप परिचालन गर्न सकिने प्रमुख विशेषज्ञ श्रेष्ठले बताए।
समूहले निम्न कार्य गर्नुपर्ने छ
– कोभिड–१९ संक्रमित तथा उनीहरुको निकट सम्पर्कमा आएका व्यक्तिको अद्यावधिक विवरण राखी आवश्यकता अनुसार स्वास्थ्य परामर्श दिने, आवश्यक सहयोग उपलब्ध गराउने, स्थानीय तह तथा परीक्षण केन्द्रहरुमा सम्पर्क गर्न आवश्यक सहयोग गर्ने, क्वारेन्टाइन/आइसोलेसनमा बसे–नबसेको अनुगमन गर्ने।
– स्वक्वारेन्टाइन, होम/होटल आइसोलेसनमा बसेका व्यक्तिहरुलाई आवश्यकता अनुसार स्वास्थ्य सम्बन्धी जानकारी उपलब्ध गराउने तथा परामर्श दिने कार्य गर्नुपर्ने छ।
– संस्था क्वारेन्टाइन/आइसोलेसन आवश्यक पर्ने व्यक्तिहरुको पहिचान गरी नगरपालिकासँग समन्वय गर्ने।
– स्वक्वारेन्टाइन, होम/होटल आइसोलेसनमा बसेका व्यक्तिहरुलाई तोके बमोजिमको अन्तरालमा फलोअप गर्ने र तोकिएका फारामहरुमा सूचना अद्यावधिक गर्न कन्ट्याक्ट ट्रेसिङ समूहलाई सहयोग गर्ने।
– महामारी विरुद्धको अभियानमा स्थानीय संघसंस्था, क्लब, शिक्षक, गुठी टोल सदस्यहरु तथा स्वयंसेवकहरु पहिचान गरी परिचालन गर्ने।
– टोलमा कोभिड–१९ सम्बन्धित जनचेतना अभिवृद्धि गर्ने, भौतिक दूरी, घरबाहिर मास्कको अनिवार्य प्रयोग, सार्वजनिक स्थानमा हातको सरसफाइ लगायत सरकारले तोकेका जनस्वास्थ्यका मापदण्ड पालन भए–नभएको अनुगमन गर्ने र कार्यान्वयनमा लागि अवाश्यक प्रबन्ध मिलाउने।
– टोलमा अनावश्यक भीडभाड र भेला नगर्न सचेत गराउने, बढी भीडभाड हुने स्थान र समयमा अनुगमन गर्ने।
– ६० वर्ष माथिका जेष्ठ नागरिक, दीर्घ रोगीहरु (दम, क्यान्सर, मुटु, श्वासप्रश्वास सम्बन्धी समस्या भएका व्यक्ति) लाई घर बाहिर नजान र जानैपर्ने भएमा अनिवार्य मेडिकल मास्क प्रयोग गर्ने र आवश्यकता अनुसार सहजीकरण गर्ने कार्य गर्नुपर्ने छ।
समूहलाई स्वास्थ्य मन्त्रालयले प्रदेश सरकार तथा स्थानीय पालिकाबाट प्राविधिक जनशक्तिले तालिम तथा अन्य आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने मन्त्रालयले जनाएको छ। कोभिड–१९ का लागि तोकिएका ११३३ र १११५ टोल फ्री लगायत अन्य कल सेन्टरमा सम्पर्क गरी थप जानकारी लिन सक्ने व्यवस्था मन्त्रालयले गरेको छ।
ती समूहहरुको परिचालन तथा निगरानी टोल विकास÷सुधार समिति वा सम्बन्धित संस्थाको वडा अधयक्षको प्रत्यक्ष निर्देशन तथा अनुगमनमा गरिने बताइएको छ।